सीमा विवाद हल गर्ने विषयमा नेपालकै भूमिका सशक्त हुन सकेनः बुद्धिनारायण श्रेष्ठ

यस्ता छन्, भारत वार्ता गर्न तत्पर नदेखिनुका कारण

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणमा नेपाल भारत सीमा विवादबारे कुरा हुने प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा बताएका थिए ।

सीमा विवादबारे कुनै ठोस कुरा नगरी नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सकिएपछि त्यसबारे अनेक तर्कवितर्क भइरहेको छ।

दिल्ली बैठकमा नेपालले त्यो विषय उठाए पनि भारतीय पक्षले गम्भीरता नदेखाउँदा त्यसबारे सामान्य छलफल मात्रै भएको र अर्थपूर्ण वार्ता हुन नसकेको विवरण आएको छ।

सीमा विवादसम्बन्धी संवादका विषयमा पत्रकारहरूको जिज्ञासामा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन्, सीमाका विषयमा हाम्रो अडान जगजाहेर छ। र, म के कुरा स्पष्ट पार्न चाहन्छु भने संयुक्त आयोग एवं सीमा बैठक फरकफरक संयन्त्र हुन्।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशङ्करबीच शुक्रवार वार्ता भएको थियो। मन्त्री ज्ञवाली दिल्ली जानुअघि परराष्ट्र मन्त्रालयले बैठकमा व्यापार, पारवहन, ऊर्जा, सीमा, कोभिड-१९ सम्बन्धी सहकार्य, पूर्वाधार र सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन, संस्कृति आदि विषय पर्ने जनाएको थियो।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणका क्रममा लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र फिर्ता गराउने विषयमा कुराकानी हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए।

यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले सीमाविद्‌ बुद्धिनारायण श्रेष्ठसँग सङ्क्षिप्त कुराकानी गरेका छन्। प्रस्तुत छ श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः

१. नेपालसँग सीमा विवादको विषयमा कुरा गर्न भारत सधैँ आलटाल गर्ने गरेको धेरैले आरोप लगाउने गरेका छन्। यसमा तपाईँको के मत छ ?

मैले बुझे अनुसार भारतसँग पर्याप्त पुराना दस्ताबेज र नक्साहरू छैनन्। उसको पक्षमा पुराना नक्सा छैनन् र उसले पछि बनाएका नक्सा डिस्टोर्ट गरी बनाइएका छन्। त्यसले गर्दा भारत नेपालसँग सीमा विवादबारे पछि वार्ता गर्ने भन्दै पछाडि हट्ने गरेको छ।

उदाहरणका लागि भारतले सन् २०१९ मा नयाँ राजनीतिक नक्सा जारी गरेपछि त्यसको नेपालले विरोध गर्दै डिप्लोम्याटिक नोट समेत पठायो।

तर कोरोनाभाइरस महामारीको कारण देखाउँदै उसले पछि कुरा गर्ने भन्यो। यसबाट के विश्लेषण गर्न सकिन्छ भने आफूसँग कमजोर प्रमाण भएका कारण भारत वार्ता अगाडि बढाउन चाहँदैन। अर्को कारण उसले आफ्नो पक्षमा प्रमाणहरू बटुलिरहेको पनि हुनसक्छ।

सबैभन्दा ठूलो समाधान भनेको वार्ता नै हो। अहिलेको जमानामा वार्ता गर्ने हो। लडाइँ गरेर अथवा क्षेप्यास्त्र हानेर कसैसँग सीमा विवाद समाधान हुँदैन। नेपालले बुद्धिमत्तापूर्ण तरिकाले भारतसँग वार्ता गर्ने वातावरण बनाउन सक्नुपर्छ। यसमा म उदाहरण दिन चाहन्छु।

उत्तरी नेपालका १८ वटा ठाउँमा १७ वर्षसम्म भारतीय सेनाको चेक पोस्ट थिए। मातृकाप्रसाद कोइरालाको पालामा खडा गरिएका ती पोस्टहरू १७ वर्षपछि कीर्तिनिधि बिष्टको पालामा हटाइयो। ती चेक पोस्टका सैनिकहरूलाई फूलमाला लगाएर नेपालले बिदाइ गर्‍यो। उनीहरू पनि हाँस्दै नेपाल छाडे। त्यो किन भयो भने नेपालले बुद्धिमत्तापूर्वक वार्ता गर्‍यो।

यदुनाथ खनालले बुद्धिमत्तापूर्ण कूटनीति र त्यस बेलाका भारतका लागि नेपाली राजदूत भीमबहादुर पाँडेले सशक्त भूमिका देखाउनुभयो।

क्षेत्रविक्रम राणा, पदमबहादुर कँडेल र हृषीकेश शाहले भूमिका निर्वाह गरे। कीर्तिनिधि बिष्ट र राजा महेन्द्रले भूमिका निर्वाह गरे। त्यो इन्टिग्रेटेड अप्रोच भएर बुद्धिमत्ता र तर्कपूर्ण कूटनीतिका कारण त्यो बेला भारतले आफ्ना सेनालाई सर्लक्क उठाएर लग्यो।

२. अहिले त्यसरी गर्दा पनि भारतले मानेन भने के गर्ने नि ?

त्यो त क्यान्सरको औषधि छैन भने जस्तै हो। तर मलाई के लाग्छ भने विश्वको एउटा ठूलो प्रजातान्त्रिक मुलुक भारतको आफ्नै छवि छ। त्यो छवि धमिल्याउन भारत पनि चाहँदैन नि त। नेपालले अन्तर्राष्ट्रिय स्तरमा पनि बुद्धिमत्तापूर्ण ढङ्गले वातावरण निर्माण गरेर समस्याको समाधान खोज्नुपर्छ।

एउटा कुरा मैले सम्झेँ हालसालै मस्कोमा एउटा सम्मेलन सकिएपछि भारत र पाकिस्तानका विदेशमन्त्रीबीच साइडलाइनमा कुरा भएको थियो। त्यो कुरा गराउनका लागि रुसको परराष्ट्रमन्त्रीले पहल गरेका थिए। नेपालले पनि त्यसैगरी अन्तर्राष्ट्रिय वातावरण सिर्जना गर्न सक्यो भने भारतले हाँसीहाँसी कुरा गर्ला। त्यसैले हाम्रै भूमिका महत्त्वपूर्ण हुनुपर्छ, हामी नै जागरुक हुनुपर्छ।

३. उसोभए यो विषयमा नेपालकै भूमिका सशक्त हुन नसकेको तपाईँले भन्न खोज्नुभएको हो ?

एकदम। उदाहरणका साथ तपाईँलाई भन्न चाहन्छु नेपालबाट एजेन्डा जाँदा सीमासम्बन्धी पनि कुरा हुन्छ भनेर गयो र भारतले त्यसलाई स्वीकृत गर्‍यो भन्ने हिसाबले कुरा आयो। तर भारतले पछि अस्वीकृत गर्दा हाम्रा परराष्ट्रमन्त्रीले कुरा गरौँ, कुराको थालनी गर्दैमा के बिग्रिन्छ र भन्न सक्नुपर्थ्यो। कुरा सुरु गर्दैमा कोही जित्ने वा हार्ने हुँदैन भनेर भन्न सक्नुपर्थ्यो।

तर हाम्रो परराष्ट्रमन्त्रीले त्यसो भन्न सक्नुभएन। भारतस्थित हाम्रा राजदूत नीलाम्बर आचार्यले पनि सशक्त भूमिका निर्वाह गर्न सक्नुभएन। मेरो विचारमा हाम्रो तर्फबाट हुने यी र यस्तै कमजोरी हुन्। बीबीसीबाट