सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र) को प्रदेश भेला सम्पन्नः अध्यक्षमा धर्म सञ्ज्याल ‘ध्रुव’ निर्वाचित

प्रदेश कमिटि ९९ सय सदस्यीयः विभिन्न ऐजेन्डामा छलफल

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेश समितिको बैठक तथा भेला हिजो कैलालीको लम्कीमा भव्य रुपमा सम्पन्न भएको छ । पछिल्लो समय माओवादी केन्द्र राष्ट्रिय भेलाको तयारीमा जुटिरहेको अवस्थामा उक्त प्रदेश भेला भएको हो ।

माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका सुदूरपश्चिम प्रदेश समितिका निर्वतमान संयोजक लोकराज जैसीको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज रंगनाथ ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै भेलामा माओवादी केन्द्रका महासचिव नरेश शाही रक्तिमको विशेष आतिथ्यता रहेको थियो भने पार्टीका पोलिटव्यूरो सदस्यहरु धु्रव सञ्ज्याल, ज्ञानु बम, रतन बिक राजन, शोभा आचार्य, केन्द्रीय सदस्यहरु भिम बहादुर बिक, टिकाराम जोशि, हिरा देवकोटा, कमला धामी लगाएतको आतिथ्यता रहेको थियो ।

भेलाबाट माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा धर्म सञ्ज्याल धु्रव निर्वाचित भएका छन । त्यस्तै प्रदेश सचिवमा पूर्व सचिव समेत रहेका पोलिटव्युरो सदस्य ज्ञानु बम निर्वाचित भएका छन ।

भेलाले ९९ सदस्यीय प्रदेश कमिटि निर्वाचित गरेको छ । त्यस्तै जिल्ला र स्थानीय तहमा समेत जिम्मेवारी तोकिएको बताइएको छ । प्रदेशमा रहेका अगुवा नेता कार्यकर्ताहरुको सहभागितामा उक्त भेला भएको थियो ।

भेलाको कार्यक्रम बिच लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा भूमिका खेल्दै आएका विभिन्न राजनीतिक दलहरुमा रहेका दर्जनौ नेता, कार्यकर्ताहरुले माओवादी केन्द्रमा प्रवेश समेत गरेका छन ।

उनीहरुलाई माओवादी केन्द्रमा उपाध्यक्ष ढकाल, महासचिव रक्तिम लगाएतका नेताहरुले स्वागत गरेका थिए ।

भेलापछिको बैठकमा पार्टीको वैचारिक राजनीतिक डकुमेन्टहरुको वाचन गर्नुको साथै पार्टीको आगामी कार्यक्रमहरुबारे वृहत छलफल समेत भएको थियो ।

भेलामा पार्टी केन्द्रका योजनालाई प्रदेश स्तरबाट सफल पार्न मदत गर्ने र प्रदेश तथा जिल्ला स्तरमा संगठन निर्माण एवं राजनीतिक प्रशिक्षणात्मक कार्यक्रमहरु सञ्चालन गर्नेबारे छलफल भएको छ ।