प्रेस स्वतन्त्रता सुनिश्चितताको लागि संसदीय व्यवस्थाको विकल्प खोज्नुपर्नेमा प्रेस सेन्टरद्धारा जोडः व्यापक विरोध तथा र्याली

राष्ट्रविरोधी जनविरोधी गतिविधि रोक्न माग

बाँके । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताको लागि वर्तमान दलाल तथा प्रतिक्रियावादी व्यवस्थाको विकल्प खोज्नुपर्ने धारणा बाँकेको नेपालगञ्जमा हालै सम्पन्न एक कार्यक्रमका वक्ताहरुले राखेका छन् ।

प्रेस सेन्टर नेपाल बाँकेद्धारा गत मंगलबार नेपालगञ्जमा आयोजित विरोध कार्यक्रममा सहभागि वक्ताहरुले त्यस्तो बताएका हुन् । कार्यक्रमका वक्ताहरुले राष्ट्रविरोधी जनविरोधी गतिविधि रोक्नका लागि वर्तमान व्यवस्था परिवर्तन अनिवार्य हुने बताए ।

सरकारले प्रेस स्वतन्त्रतामाथि विभिन्न विधयक, कानुनको नाममा अंकुश लगाउने, अधिकार हनन गरेको र पत्रकारहरुलाई असुरक्षीत बनाउने गरेको भन्दै प्रेस सेन्टर नेपालले विरोध गर्दै आएको छ ।

पछिल्लो समय बाँकेका साथै देशका विभिन्न स्थानमा खुला रुपमा राष्ट्रघात, जनघात र भ्रष्टाचार भैरहेको भन्दै प्रेस सेन्टर नेपालले वर्तमान व्यवस्था परिवर्तन नगरेसम्म मुलुकले दिर्घकालिन समाधान गर्न नसक्ने तर्क अघि सारेको छ ।

साथै पत्रकार र कुनैपनि पेशागत संघ संगठनले हक, अधिकारको लागि अघि सारेका मुद्दाहरु वर्तमान व्यवस्था रहदासम्म पुरा नहुने भन्दै प्रेस सेन्टर नेपालले राष्ट्रघात, जनघातका विरुद्ध, पेशागत सुरक्षा, स्वतन्त्रताको पक्षमा देशव्यापी विरोध कार्यक्रम गर्नुपर्नेमा जोड दिएको छ ।

कार्यक्रमका सहभागिहरु वागेश्वरी मन्दिर अगाडीको चौरमा जम्मा भएर, त्यहाँबाट प्रेस स्वतन्त्रता, राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको पक्षमा विभिन्न नारा जुलुश निकाल्दै कार्यक्रम स्थल त्रिभुवन चोकसम्म पुगेका थिए ।

कार्यक्रम पछिल्लो समय प्रेस सेन्टर नेपालमा सक्रिय भूमिका खेल्दै आएका नेता, एवं सामाजिक अन्याय, अत्याचार, विकृति विरुद्ध आवाज उठाउँदै आएका सामाजिक अभियन्ता आशिष मल्ला ठकुरीको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष अजय पाठकले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव नरेश शाही (रक्तिम) को प्रमुख आतिथ्यता तथा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसी (लोकेश) को विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका इन्चार्ज सिंहराज बिक (सृजन), पोलिटव्यूरो सदस्य सूर्य के.सी, पार्टी पोलिटव्यूरो सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष दुर्गा खत्री, अखिल क्रान्तिकारीका हेमन्त शाही लगाएतको आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश अध्यक्ष दिनेश कुमार श्रीवास्तव, बाँके जिल्ला सचिव मनोज कुमार तमोली, नेताहरु प्रेरणा खड्का, गोमा विसी, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य आयुष न्यौपाने लगाएतको समेत आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रेस सेन्टर नेताल लगाएत अन्य विभिन्न पत्रकार सम्वद्ध संघ संगठनका नेता, कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रको सुनिश्चितताको लागि वर्तमान व्यवस्थाको विकल्प खोजौं, राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको पक्षमा संघर्ष गरौं भन्दै चर्को नारा समेत लगाएका थिए ।

कार्यक्रममा बाँकेका विभिन्न स्थानहरुबाट युवा, विद्यार्थी, सामाजिक अगुवाहरु, जनन्यायीक व्यवस्थाको पक्षमा आवाजउँदै आएका अभियन्ताहरु, उतपीडित क्षेत्र, पेशाका मानिसहरुको सहभागिता रहेको थियो ।