प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि संसदीय व्यवस्थाको विकल्प खोज्न प्रेस सेन्टरको जोड

दलालीकरण, भ्रष्टिकरण विरुद्ध भोलि वृहत विरोध कार्यक्रम गरिने

बाँके । प्रेस सेन्टर नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि वर्तमान संसदीय व्यवस्थाको विकल्प खोज्नुपर्नेमा जोड दिएको छ ।

बढ्दो दलालीकरण, भ्रष्टिकरण विरुद्ध भोलि बाँकेको नेपालगञ्जमा हुने वृहत विरोध कार्यक्रमको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसीले त्यस्तो बताएका हुन ।

नेपालगञ्जको विपि चोकस्थिति सि.एस.टि होटेलको हलमा आज प्रेस सेन्टर नेपाल बाँकेले आयोजना गरेको उक्त पत्रकार सम्मेलन मार्फत विरोध कार्यक्रमको विषयमा पत्रकारहरुलाई जानकारी गराइएको थियो ।

पत्रकार सम्मेलनमा कार्यक्रमबारे प्रष्ट पार्दै प्रेस सेन्टर नेपालका अध्यक्ष जैसीले राष्ट्र, राष्ट्रियता र जनता भन्दा माथि कुनैपनि पेशा, व्यवसाय हुन नसक्ने तर्क गर्दै आफ्नो संगठनले पेशागत हक, अधिकारका साथै देश र जनताको समस्याबारे समेत उठान गर्न खोजेको बताए ।

अध्यक्ष जैसीले भने–‘मुलुकमा विद्यमान दलाल प्रतियाक्रियावादी संसदीय व्यवस्थाको विकल्पमा जनन्योचित व्यवस्था ल्याउन आवश्यक छ । जनन्योचित व्यवस्था नआएसम्म हामी सबै पेशाकर्मि वा नागरिकहरुले अधिकार प्राप्त गर्ने स्थिति छैन । राष्ट्रियता, जनतन्त्र र जनजीवीका सबैखाले समस्याहरुको मुख्य कारण नै संसदीय व्यवस्था हो ।’

उनले पत्रकारहरुसँग कुराकानी गर्दै भने–‘हामी शासकवर्गले गरेको दलाली, राष्ट्रघाती जनघाती गतिविधिहरु टुलुटुलु हेरेर कदापि बस्न सक्दैनौं । तसर्थ त्यसका विरुद्ध एक पटक सचेतन आवाज बुलन्द गरौं । हामी सचेत नागरिकहरुले नै बोल्नु पर्छ, डट्नुपर्छ र न्यायोचित व्यवस्था स्थापनाका लागि एक भएर जुट्नुपर्छ ।’

उनले कार्यक्रममा सबैलाई उपस्थित हुन आग्रह गर्दै भने–‘हातमा कलम हुनेहरू कलम लिएर उठौ, अन्यायमा पिल्सिएका भोका नाङ्ना नागरिकहरू आवाज लिएर बढौं, बाजा बजाउन जान्नेहरू बाजा लिएर उठौं, गाउँगाउँबाट उठौं बस्ति बस्तिबाट उठौं, यो देशको मुहार फेर्नलाई जुटौं ।’

पत्रकार सम्मेलनको सञ्चालन प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष अजय पाठकले गरेका थिए । सञ्चालनको क्रममा संगठनका बाँके अध्यक्ष पाठकले सम्पूर्ण देशभक्त पत्रकार, सञ्चारकर्मि लेखक, बुद्दिजीवी, पेशाकर्मिहरु र आम नागरिकको समस्या तथा दलाल प्रतिक्रियावादी राज्यसत्ताँको विकल्पबारे सञ्चारकर्मि र सचेत नागरिकहरुको संयुक्त कार्यक्रममा भएको बताए ।

उनले उक्त कार्यक्रममा बाँके जिल्लाका सम्पूर्ण पत्रकार तथा न्यायोचित व्यवस्थाका पक्षमा उभिने आम नागरिकहरुलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि निमन्त्रणा समेत गरे । उनले भने–‘आउँनुहोस्, कलमजीवीको समस्या, श्रमजीवीको समस्या राज्यसत्ताँको संरक्षणमा भैरहेका भ्रष्टाचार, अनियमितता, अपराध र सबैखाले विकृति विसंगतिहरु विरुद्ध संगठित आवाज उठाउँऔं ।’

अध्यक्ष पाठकले उक्त कार्यक्रम भोलि बिहान ठिक ११ बजेबाट शुरु हुने बताए । कार्यक्रमको लागि सबैलाई बिहान १० बजे वागेश्वरी मन्दिर अगाडीको चौरमा जम्मा हुन उनले आग्रह गरेका छन । त्यहाँबाट विरोध र्याली त्रिवेणीमोड हुँदै त्रिभुवन चोकतर्फ बढ्ने बताइएको छ । र्याली पश्चात त्रिभुवन चोकमा वृहत विरोध सभाको कार्यक्रम हुने बताईएको छ ।

उक्त विरोध कार्यक्रममा पत्रकार संघ, संगठनहरु, नागरिक अगुवाहरु, सामाजिक अभियन्ताहरु, राजनीतिक दलका नेताहरुको समेत सहभागिता हुने बुझिएको छ । कार्यक्रममा मजदूर किसान तथा उत्पीडित वर्ग समुदायका मानिसहरु जिल्लाका विभिन्न स्थानहरुबाट सयौंको संख्यामा सहभागि हुने बताइएको छ ।

भोलि हुने विरोध कार्यक्रमको ‘‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताको लागि संसदवादको विकल्प खोजौं ! राष्ट्रघाती, जनघाती राज्यसत्ताको दलालीकरण, भ्रष्टिकरणको व्यापक विरोध गरौं !’ भन्ने मुल नारा रहेको बुझिएको छ ।

उक्त पत्रकार सम्मेलनमा प्रेस सेन्टर बाँकेका सचिव मनोज कुमार तमोली, संगठनका सदस्य समेत रहेका भ्रष्टाचार विरुद्धको अभियानका अभियन्ता आशिष मल्ल ठकुरी, भारती मानन्धर, प्रेस सेन्टर बाँके सदस्य सम्झना पुन लगाएत सहभागि रहेका थिए ।

कार्यक्रममा हरपल नेपाल, नील खबर, प्रभात घोषणा, नेपालगञ्ज टाइम्स, समय पत्र, सत्यम खबर लगाएतका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकाररुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागि पत्रकारहरुले विभिन्न प्रश्न समेत राखेका थिए ।