ट्रिपरको ठक्करबाट घाइते तामाङको उपचारका क्रममा मृत्यु

ट्रिपर प्रहरी नियन्त्रणमा

काठमाडौं । पूर्वपश्चिम लोकमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ विद्युत् चोकमा ट्रिपरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बुङताङका २५ वर्षीय सुबबहादुर तामाङ रहेका छन् ।

नारायणगढबाट लोथरतर्फ गइरहेको ना६ख २३९८ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आइरहेको बा४१प ८६४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ट्रिपरको ठक्करबाट घाइते तामाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । दुवै सवारी साधन र ट्रिपर प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस