उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण तालिम

इमान्दारीताका साथ काम गर्नुपर्नेमा जाेड

बाँके । बाँकेको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को योजना कार्यान्वयन गर्न गठन भएका उपभोक्ता समितिकालागि अभिमुखीकरण तालिम दिन शुरु गरेको छ ।

जानकी गाउपालिका अन्तर्गत वडा न. ३ मा गठन भएका उपभोक्ता समितिका पदाधिकारीहरुको लागि आयोजित अभिमुखीकरण तालिमको उद्घाटन समारोहमा बोल्दै कार्यपालिका सदस्य एवम् पूर्वाधार समिति संयोजक राज कुमार धोवीले योजनाको स्टिमेट अनुसार गुणस्तर कायम गरेर निर्माण कार्य समयमै सम्पन्न गर्न उपभोक्ता समितिका पदाधिकारीलाई आग्रह गरेका थिए ।

उपभोक्ता समितिका संयोजक धोवीले स्टिमेट भन्दा बाहिर गएर गरिएको निर्माणको फच्छ्यौट नहुने भएकोले जनसमुदायबाट समेत फच्छ्यौट हुनेगरी काम गर्नुपर्नेमा उहाँले जोड दिए ।

वडाको विकास गर्ने अवसर पटक पटक नआउने भएकोले यो अवसरलाई सदुपयोग गर्दै इमान्दारिताका साथ काम गर्न समितिका संयोजक धोवीले आग्रहसमेत गरेका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले आफ्नो गाउँको विकास निर्माण इमान्दारिताका साथ गर्नु पर्ने बताए ।

गाउँका सबै जनतासामु पारदर्शी र इमान्दारीताका साथ गुणस्तरीय काम गर्नु उपभोक्ता समितिको जिम्मेवारी भएको बताए ।

कार्यक्रममा योजना शाखा प्रमुख इन्जिनियर निसार अहमद दर्जी, लेखा अधिकृत मतीन अहमद अन्सारी,योजना शाखा सहजकर्ता राजेन्द्र बाजपेयी लगायतले तालिमको सहजिकरण भयो ।

जानकी गाउँपालिका वडा नं. ३ मा आर्थिक वर्ष २०७७/०७८ को लागि २५ योजनाहरु छनौट भएका अधिकृत रानाले संचारकर्मिसंगको फोन वार्ताको क्रममा बताए ।