विभिन्न मुद्दामा अदालतको सजाय छल्दै फरार रहेका दुई प्रतिवादी पक्राउ

फरार प्रतिवादीको खोजिमा प्रहरीको सक्रियता बढ्यो

झापा । बहुबिवाह मुद्दामा फरार प्रतिवादी बिर्तामोड नगरपालिका २ बस्ने ३२ वर्षीय राज कुमार कोचलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । अदालतले सजाय ठहर गरेको अवधी नपुग्दै फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत भद्रपुर झापाको २०७४ असार ४ गतेको फैसलाले १ वर्ष कैद तथा ५ हजार रुपैयाँ जरिवाना सजाय ठहर भई जरिवाना धरौटीबाट सदर भएको थियो ।

अदालतको सजाय अनुसार २४ दिन कैद असुल भई बाँकी ११ महिना ६ दिन बेरुजु रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनकै घर वतनबाट पक्राउ गरेको बुझिएको छ ।

कोचलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भद्रपुर झापामा बुधबार उपस्थित गराएकोमा बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने आदेश भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै ज्यान मार्ने उद्योगका फरार प्रतिवादी माछापुछ्रे गाउँपालिका ९ सिदिङ बस्ने ४८ वर्षीय खिम बहादुर क्षेत्रीलाई पनि बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कास्कीको २०६४ साउन ३० गतेको फैसलाले ज्यान मार्ने उद्योग अपराधमा ७ वर्ष कैद ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

क्षेत्री उपर आवश्यक कारवाही प्रकृया अगाडि बढाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । विभिन्न मुद्दामा अदालतको सजाय छल्ने, फरार रहनेहरुको खोजि गर्दै पछिल्लो समय प्रहरीले कारबाही प्रकृयामा सक्रियता देखाएको देखिन्छ ।