देशका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध सहित चार जना पक्राउ

ठूलो परिमाणमा लागुऔषध बरामद

नवलपरासी । लुकाईछिपाइ विभिन्न परिमाणको लागुऔषध ओसार पसार तथा सेवनकर्ताको रुपमा प्रहरीले आज देशका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको बताएको छ । प्रहरी श्रोतका अनुसार पक्राउ पर्नेहरु नवलपरासी, दाङ, रुपन्देही लगाएतका जिल्लाका हुन ।

त्यहि क्रममा कावासोती नगरपालिका १६ डण्डाबाट नियन्त्रित लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले बसमा सवार यात्रुलाई जाँच गर्ने क्रममा उनीहरुलाई लागुऔषध सहित आज बिहान पक्राउ गरेको हो ।

बसमा सवार उनीहरुको साथबाट प्रहरीले ५२ एम्पुल फेनारगन, ५२ एम्पुल डाईजेपाम र ५२ एम्पुल नुर्फिन बरामद समेत गरेको बताएको छ ।

पक्राउ पर्नेहरुमा पर्वत कुस्मा नगरपालिका ८ बस्ने २१ वर्षीय अनिल परियार र सोही नगरपालिका ४ बस्ने २१ वर्षीय बबिन पुन रहेका छन् । उनीहरु लु २ ख २१३१ नम्बरको बसमा यात्रा गरिरहेको अवस्थामा पक्राउ परेको बुझिएको छ ।

त्यस्तै दाङ, तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कबाट नियन्त्रित लागूऔषध ३ सय ४५ ट्याब्लेट नाईट्राभेट र १ सय २० क्यापसुल ट्रमाडोल हाईड्रोक्लोराईड सहित अर्का एक जना पनि पक्राउ परेको बुझिएको छ ।

तुलसीपुर उपमहानगरपालिका १९ बस्ने २५ वर्षीय देब बहादुर खड्कालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको बताएको छ ।

त्यस्तै रुपन्देहीको सिद्दार्थनगर नगरपालिका १ वेलहीयाबाट नियन्त्रित लागूऔषध ३ सय ट्याब्लेट नाईट्राभेट, १ सय एम्पुल नुर्फिन, १ सय एम्पुल फेनारगन र १ सय एम्पुल डाईजेपाम सहित अर्का एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका ५ तरैणी बस्ने २२ वर्षीय मद्दर हरिजनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्दा पेटमा टेपले बाँधी लागूऔषध लुकाई ल्याएको अवस्थामा पक्राउ गरेको बताइएको छ ।

पछिल्लो अवस्थामा देशका विभिन्न स्थानहरुमा लागुऔषध सेवनकर्ता र कारोबारीयाहरु पक्राउ पर्नेको संख्या बढ्दै गएको देखिन्छ । लागुऔषध नियन्त्रणको विषयमा प्रहरीले गम्भिर अनुसन्धान गरिरहेको बताउँदै आएको छ ।