राखेप सदस्य चौधरीलाई नेपालगन्जमा स्वागत

खेलकुदमा परेको गाँठो नेपालगन्जले फुकाउने ः अध्यक्ष ओली

बाँके । मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्लले राष्ट्रिय खेलकुद परिषदका सदस्य सुमित्रा चौधरीलाई कार्यालयमा स्वागत गरेको छ ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष भीम ओलीको विशेष आतिथ्यतामा राखेपका सदस्य चौधरीलाई स्वागत गरिएको हो ।

स्वागत कार्यक्रममा चौधरीले आठौँ राष्ट्रिय प्रतियोगिताका बेला नेपालगन्ज रंगशालामा बनेका संरचना संरक्षणकालागि विशेष पहल गर्ने आश्वासन दिइन् ।

सदस्य चौधरीले आठौँ राष्ट्रिय प्रतियोगिताका बेला बनेका संरचनाले नेपालगन्ज रंगशालाको मुहार फेरिएको बताउँदै यसको संरक्षण गर्ने दायित्व हामी सवैको भएको बताइन् ।

स्वागत कार्यक्रममा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष भीम ओलीले खेलकुदमा परेको गाँठो नेपालगन्जले फुकाउने गरेको बताए ।

उनले तेस्रो राष्ट्रिय प्रतियोगिता पछि हुन नसकेको चौथो राष्ट्रिय प्रतियोगिता नेपालगन्जले गरेर प्रतियोगिता निरन्तरताको बाटो खोलेको स्मरण गर्दै भने १३ बर्षसम्म हुन नसकेको चौथो राष्ट्रिय प्रतियोगिता नेपालगन्जले गर्योे ।

दुई–दुई बर्षमा राष्ट्रिय प्रतियोगिता गर्ने बाटो पनि नेपालगन्जले खोल्यो । कोभिडका कारण रोकिएका राष्ट्रिय प्रतियोगिता गर्ने ढोका पनि नेपालगन्जले आयोजना गरेको नेपालगन्ज म्याराथनले नै खोलेको छ,’ उनले भने ।

उनले आठौँ राष्ट्रिय प्रतियोगिताले नेपालगन्जलाई खेलकुदका धेरै उपहार दिएको बताउँदै यसको संरक्षण गर्नसकेको खण्डमा यसले सिंगो नेपालगन्जलाई फाइदा पुग्ने धारणा राखे ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखा अधिकृत मिन बहादुर जिसीले संचालन गरेको स्वागत कार्यक्रममा कार्यालय प्रमुख महेश चन्दले स्वागत गर्नुका साथै नेपालगन्ज रंगशालामा भएका भौतिक संरचना र अवस्थाको बारेमा जानकारी गराएका थिए ।

स्वागत कार्यक्रमको अवसरमा कर्मचारी संगठनका पदाधिकारी, प्रशिक्षक, कर्मचारी र खेलाडीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।