विश्वको तुलनामा नेपालमा कोरोना संक्रमणबाट मृत्युहरुको संख्या कमः यस्ता छन् कारणहरु…

रोग प्रतिरोधात्म क्षमता उच्च

काठमाडौं । नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुने मानिसको सङ्ख्या अन्यत्रको तुलनामा थोरै भएको विषय विगत ६, ७ महिनादेखि नै चर्चामा रह्यो।

अहिले पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको तथ्याङ्क हेर्ने हो भने नेपालमा कुल सङ्क्रमितमध्ये ०.५७ प्रतिशतको ज्यान गएको देखिन्छ।

फेला परेको सङ्क्रमितको सङ्ख्या र तीमध्ये कतिको मृत्यु भयो भन्नेबाट यो अनुपात निकालिन्छ। हाल नेपालमा फेला पारिएको सङ्क्रमितको सङ्ख्या झन्डै दुई लाख पुग्दै गर्दा ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ।

यो अनुपात छिमेकी भारतमा १.५ प्रतिशत रहेको छ भने बाङ्ग्लादेशमा १.४ प्रतिशत, पाकिस्तानमा २.० प्रतिशत, र अफगानिस्तानमा ३.७ प्रतिशत रहेको बताइन्छ। दक्षिण एशियाका माल्दिभ्स र श्रीलङ्कामा मृत्युदर नेपालमा भन्दा कम देखिन्छ।

विश्वमा यो अनुपात २.५ प्रतिशत रहेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाउँछ। सबैभन्दा सीधा उत्तर त देशको जनसङ्ख्याको संरचनाले दिन सक्छ।

कोभिड १९ ले धेरै उमेरका मानिसहरूमा धेरै गम्भीर असर र मृत्यु निम्त्याएको संसारभरि देखिएको छ। त्यसैले नेपालजस्तो अत्यधिक युवा जनसङ्ख्या भएका देशमा यसको मृत्युदर कम हुने ठानिन्छ।

नेपालमा केही समयअगाडि अधिकारीहरूले कोभिड १९ बाट ज्यान गुमाउनेमध्ये आधाजति ६० वर्षभन्दा माथिको उमेरको भएको जनाएका थिए। नेपालमा ६० वर्षभन्दा माथि उमेर भएका मानिस कुल जनसङ्ख्याको केवल ८.६ प्रतिशत मात्र छन्।

यसबाट पनि यहाँ कम मृत्युदर हुने प्रक्षेपण गर्न सकिने विज्ञहरू बताउँछन्। दुईवटा मुख्य कारण हुनसक्छ। एउटा जनसाङ्ख्यिक वितरण र अर्को सामाजिक संरचना। पश्चिमा देशहरूमा निकै धेरै मृत्यु वृद्धवृद्धालाई राखिने नर्सिङ होमहरूमा भएको पाइएको छ।

यहाँ त अलि उल्टो के छ भने वृद्धवृद्धाहरू धेरै गाउँघरमै बस्छन् अनि त्यहाँ सङ्क्रमण कम छ,ू जनस्वास्थ्य अनुसन्धाता डा. किरण पाण्डेले बताए। अनि ग्रामीण वस्तीमा कोभिडका कारण नै कसैले ज्यान गुमाए पनि त्यो जानकारीमा नआउने भएको हुनसक्ने उनले औँल्याए।

स्वास्थ्य मन्त्रालयका अवैतनिक सल्लाहकार डा। सुरेश तिवारीले अहिले प्रस्तुत गर्ने गरिएको मृत्युदरमा मात्र भर पर्नुभन्दा थप अध्ययन हुनुपर्ने बताए।

भारतका केही वैज्ञानिकहरूले त्यहाँ गरेको अध्ययनमा कैयौँ भारतीयहरू कमजोर सरसफाइ भएको स्थानमा अनि अन्य रोगको सङ्क्रमणसँग जुझ्दै हुर्किने भएकाले तिनमा कोरोनाभाइरससँग जुझ्न पनि थप प्रतिरोधी क्षमता भएको हुनसक्ने उल्लेख गरेका छन्।

उस्तै उस्तै रहनसहन र अवस्था भएकाले नेपालमा पनि त्यही तर्क लागु हुनसक्ने एकथरी ठान्छन्। तर डा. पाण्डेले त्यसको प्रतिवाद गरे।

उनले भने, बिरामीहरूमा एकथरी कोरोनाभाइरसको एन्टिबडी पहिलेदेखि रहेकाले कोभिड १९ मा पनि त्यसको प्रतिक्रिया देखिएका छन्। तर त्यसले नै हामीलाई बचाइरहेको छ भन्ने वैज्ञानिक प्रमाण फेला परिसकेको छैन।

डा. तिवारीले पनि यसलाई अहिलेको निम्ति सोचनीय वैज्ञानिक प्रश्न मात्र मान्न सकिने बताए। केही सम्बन्ध स्थापित गर्न खोजिएको छ। तर ठ्याक्कै यही नै हो भनेर टुङ्ग्याउन अलि हतारो हुन्छ जस्तो लाग्छ, उनले भने ।

इम्यूनोलजिकल अध्ययन नगरीकन यसलाई सार्वजनिक सन्देश दिने हिसाबले भन्न मिल्दैन। विभिन्न विश्लेषण को बाढी नै आएका छन्। ती विश्लेषणहरूको पनि विश्लेषण गर्नुपर्ने देखिन्छ, डा. तिवारीले भने।

अर्का जनस्वास्थ्यविद् डा. सुशीलनाथ प्याकुरेलले नेपालमा कोभिडबाट कम मृत्युदरको विषयमा थप अध्ययन हुन बाँकी रहेको तर जनस्वास्थ्यको सन्दर्भबाट केही अनुमान भने गर्न सकिने बताए।

एउटा जनस्वास्थ्यको जानकारको हैसियतले मैले चारवटा अनुमान गरेको छु। यद्यपि यी अनुमानलाई अध्ययनबाट पुष्टि गर्न बाँकी नै छ, उनले भने। उनले अगाडि सारेको चारवटा अनुमानमा एक बीसीजी खोपको व्यापक प्रयोगले उत्पन्न गरेको हुनसक्ने प्रतिरोधी क्षमता हो।

पश्चिमा देशहरूको तुलनामा यहाँ क्षयरोगविरुद्धको बीसीजी खोप व्यापक लगाइन्छ र यसले पनि केही सुरक्षा प्रदान गरेको हुनसक्ने कतिपय विज्ञले उल्लेख गरिरहेका छन्।

दोस्रो कारणमा केही भारतीय वैज्ञानिकहरूले भनेको जस्तै अन्य रोगसँग लडेको प्रतिरोध अनुभवले कोभिडसँग लड्न सघाउ पुगेको हुनसक्ने र तेस्रो कारण यो क्षेत्रको विशिष्ट खानपान हुनसक्ने उनले बताए।

चौथो कारण चाहिँ हाम्रो सांस्कृतिक रहनसहन हुनसक्छ। उदाहरणका निम्ति हामीमाझ अँगालो हाल्ने वा हात मिलाउने भन्दा नमस्ते गरेरै अभिवादन गर्ने जस्ता प्रचलन छन् जसले सङ्क्रमण फैलिन पनि रोक्न मद्दत गर्छ, उनले बताए।

सबैजसो विज्ञहरूको सहमति के मा रहेको छ भने मृत्युदरबारे यकिन आँकडा पहिले थाहा हुनुपर्‍यो अनि त्यसपछि कारणहरूबारे पनि वैज्ञानिक तवरले अध्ययन अनुसन्धान हुनुपर्‍यो। त्यति नहुन्जेल अगाडि सारिने तर्कहरू केवल अनुमानमा मात्र सीमित रहने उनीहरूको भनाइ छ। बीबीसीबाट