इण्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इण्डियन्स फाइनलमा

दिल्ली ५७ रनले पछि पर्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इण्डियन्स फाइनलमा पुगेको छ । हिजोको खेलमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई इण्डियन्स फाइनलमा पुगेको हो ।

मुम्बईले दिएको २०१ रनको लक्ष्य पछाएको दिल्ली क्यापिटल्सले २० ओभरमा ८ विकेट गुमाउदै १४३ रन बनाउदा मुम्बईले ५७ रनले लिएको थियो ।

निकै खराब शुरुवात गरेको दिल्लीले शुरुका ३ विकेट शुन्य रनमा गुमाएको थियो। पृथ्वी शा, शिखर धवन र आजिक्य रहाणे शुन्यमै आउट भएका थिए ।

दिल्लीका लागि मार्कोस स्टोइनिसले ६५ रन बनाएका थिए भने अक्षर पटेलले ४२ रन र रिषभ पन्तले ३ रन बनाएका थिए । मुम्बईका बलर जसप्रित बुमराहले ४ विकेट लिन सफल भएका थिए ।

बुमराहले ४ ओभरमा एक मेडनसहित १४ रन दिएर ४ विकेट लिएका थिए। त्यस्तै ट्रेन्ट बोल्टले २ ओभरमा एक मेडनसहित ९ रन दिएर २ विकेट लिएका थिए।

मुम्बईका लागि सूर्यकुमार यादवले ५१ रन बनाए भने क्विन्टन डिककले २५ बलमा ४० रनको योगदान दिए। त्यस्तै इशान किशनले ३० बलमा ५५ रन बनाएर अविजित रहे। दिल्लीका बलर आर आश्विनले ३ विकेट लिएका थिए।

यो जितपछि मुम्बई इण्डियन्स आइपिएलको फाइनलमा पुगेको छ । पराजित भएको दिल्लीले भने दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ। इलिमिनेटर खेल आज हुदै छ।