नेपाली चलचित्र उद्योग कोरोनाका कारण ठप्पः ठूलो पर्दाबाट सानो पर्दामा ओर्लिँदै
निर्देशक निर्माताको चिन्ता यस्तो छ…
काठमाडौं । कोरोनाभाइरस महामारी नियन्त्रण र रोकथामका लागि भन्दै देशव्यापी लकडाउन लागु गरिएपछि सानो, ठूलो स्तरमा अन्य विभिन्न क्षेत्र खुल्न थाले पनि अझै नखुलेको र अन्योलमा रहेको नेपाली चलचित्र क्षेत्र हो।
करिब चार महिनाको लकडाउन र त्यसपछिको निषेधाज्ञा खुले पनि अझै न सिनेमाघरहरू खुलेका छन्, न नै चलचित्रको छायाङ्कन हुन सकेको छ।
म्युजिक भिडिओ र सानो पर्दाका टेलिफिल्महरूको छायाङ्कन तथा निर्माण केही हुन थालेपनि ठूला चलचित्रहरूको छायाङ्कन र निर्माण अझै सुरु भएको छैन।
कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर चलचित्र निर्माण हुन थाल्यो भने पनि दर्शकहरू पहिले जस्तै चलचित्र हेर्न हलमै जाने अवस्था नरहेको चलचित्र निर्देशक तथा निर्माताहरू बताउँछन्।
चलचित्र क्षेत्रको लगानी उठाउने एकल माध्यम सिनेमा घरसम्म दर्शक पुर्याउन र महामारीका माझ चलचित्रको गुणस्तर वृद्धि गर्दै लैजान कठिन अवस्था बनेको भन्दै निर्देशक निर्माताहरु चिन्ता गर्दछन ।
चलचित्र निर्माता तथा नायिका केकी अधिकारी र निर्देशक तथा चलचित्र समीक्षक दीपेन्द्र लामाले पनि अहिले चलचित्रको अवस्था समस्याग्रस्त रहेको बताएका छन । उनीहरुले नेपाली चलचित्र उद्योगको विकासमा कोरोनाको संकटले थप समस्यामा थोपारेको तर्क गरेका छन । बीबीसीबाट