हुम्लामा जनप्रतिनिधिको दबाबमा प्रहरीले उठायो गलत मुचुल्काः प्रेम गरेको कारण महिलालाई दिसा खुवाएर कुटपिट

मुद्दा कमजोर बनाउन खोजेको महिला अधिकारीकर्मीहरुको आरोप

हुम्ला । कपाल मुण्डन गरी दिसा खुवाएर गाउँ घुमाउँदै महिलालाई कुटपिट गरेको घटनामा प्रहरीले गलत मुचुल्का बनाएको छ । स्थानीय बासिन्दा र जनप्रतिनिधिको दबाबमा दिसा खुवाइएको भन्ने उल्लेख नगरी मुचुल्का बनाइएको हो ।

हुम्ला सिमकोट–७ की महिलालाई परपुरुषसँग प्रेम–सम्बन्ध राखेको आरोप लगाउँदै १६ असोजमा स्थानीय बासिन्दा र जनप्रतिनिधिले कुटपिट गरेका थिए । उनको कपाल मुण्डन गरिएको थियो भने दिसा खुवाएर गाउँ घुमाइएको थियो ।

कपाल मुण्डन गरेर गाउँ घुमाइरहेको खबर पाएपछि गएको प्रहरी टोलीले नै उनलाई उद्धार गरेर सदरमुकाम सिमकोट ल्याएको थियो । तर, घटनाको तीन दिनपछि १८ असोजमा मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय र धारापोरी प्रहरी चौकीको टोली गाउँमा पुगेको हो ।

स्थानीय बासिन्दा र जनप्रतिनिधिले दबाब दिएपछि प्रहरी टोली गलत मुचुल्का बनाएर फर्किएको हो । ‘दिसा खुवाएको भन्ने मुचुल्कामा राखेपछि स्थानीयवासीले विरोध गरे, झडप हुने अवस्था आयो । जनप्रतिनिधिले पनि दबाब दिए,’ मुचुल्का बनाउन गएका एक प्रहरीले भने ।

सिमकोट–७ का वडाध्यक्ष राजबहादुर शाहीलगायत व्यक्तिले दबाब दिएको ती प्रहरी अधिकृतले बताए । सदरमुकामबाट पनि नेताहरूले दबाब दिएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।

प्रहरीले दिसा खुवाएको विषय नराखेपछि मात्रै वडा सदस्य जयबहादुर शाहीले मुचुल्कामा हस्ताक्षर गरेका थिए । वडाध्यक्ष शाहीले भने त्यसमा पनि हस्ताक्षर गर्न नमानेको ती प्रहरीले बताए ।

जिल्ला प्रहरी प्रमुख डिएसपी सूर्यप्रकाश सुवेदीले पनि दिसा खुवाएको विषय मुचुल्कामा राख्न नसकिएको स्वीकारे । ‘मुचुल्का बनाउँदा स्थानीय जनप्रतिनिधिको पनि रोहबर चाहिन्छ, दिसा खुवाएको विषय लेखेपछि जनप्रतिनिधिले हस्ताक्षर गर्न मानेनन्,’ उनले भने ।

उनले भने, ‘कसैले हस्ताक्षर गर्न नमानेपछि दिसा खुवाएको विषय मात्रै मुचुल्कामा नराखिएको हो, अन्य सबै विषय राखिएको छ । कुनै पनि हालतमा मुद्दा कमजोर हुँदैन ।’

पीडित युवती र केही प्रत्यक्षदर्शीले दिसा खुवाएको बताउँदै आएका छन् । प्रहरीले पनि उनलाई उद्धार गरेर ल्याउँदा दिसा खुवाएको बताएको थियो । जनप्रतिनिधिको दबाबमा गलत मुचुल्का उठाएर मुद्दा कमजोर बनाउन खोजेको महिला अधिकारीकर्मी गंगा बोहोराले बताइन् ।

दिसा खुवाएको घटनामा आठ वर्ष कैद सजाय हुने व्यवस्था छ । त्यो विषय नराख्दा अपमानजक व्यवहारसम्बन्धी मुद्दा चल्नेछ । प्रहरीले अपमानजक व्यवहारसम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ । जसमा बढीमा पाँच वर्षसम्म सजाय हुन्छ ।

(यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।)