१० जनामा कोरोना संक्रमित भएको पुष्टि,४४जना निको भई फर्के घर
उपचारको क्रममा ४५ बर्षिय युवकको मृत्यू
बाँके । कोरोना संक्रमणबाट ग्रसित भएका बिरामीहरुको संख्या दिनप्रतिदिन बढदै गई रहेको अवस्थामा बाँकेमा बिहीवार बिहान १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका ९ र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परिक्षणमा १ गरी बाँकेका थप १० जनामा कोरोना संक्रमण देखिएको हो ।
श्रेष्ठका अनुसार संक्रमित सबै नेपालगन्जका निवासी हुन । संक्रमित मध्ये केही आफै जाँच गर्न पुगेका थिए भने केही अस्पतालमा भर्ना भएका बिरामीहरु रहेका छन ।
त्यसैगरी, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा रुकुम र बर्दियाका एक र एक जनामा कोरोना संक्रमण देखिएको श्रेष्ठले जानकारी दिए ।
बिहीवार थपिएका १० जना सङ्गै बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ५ सय ४६ पुगेको छ भने निको हुनेको संख्या १ हजार १ सय ३२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले संचारकर्मिसंगको फोन बार्ताको क्रममा बताए ।
त्यस्तै बाँकेका बिभिन्न आईशोलेसनमा रही उपचार गराई रहेका कोरोना संक्रमितका बिरामीहरु मध्ये बिहीवार ४४ जना निको भई डिष्चार्ज भएका छन् ।
यो समाचार तयार गरुन्जेलसम्म भने भरी अस्पतालको रिपोर्ट आई सकेको थिएन ।
यसैबीच बिहीवार बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज वडा नं. १ का ४५ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
उनको दुबै फोक्सोमा निमोनिया रहेको बुझिएको छ । भदौं ३१ गते कोरोना पुष्टि भएका ति पुरुषको बिहीवार बेलुकी करीब ५ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।