बलीवुड अभिनेता अमिताभ बच्चन र अभिषेक अस्पताल भर्नाः कोरोना संक्रमणको आशंका

प्रशंसकद्वारा स्वास्थ्यलाभको कामना

भारत । भारतका प्रख्यात अभिनेता अमिताभ बच्चन कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि बलिउडका हस्तीहरू र उनका प्रशंसकहरूले उनको सुस्वास्थ्यको कामना गरेका छन्।

आफूलाई कोभिड १९ भएको उनले गत मध्यराततिर ट्वीटमार्फत् जानकारी गराएका थिए। लगत्तै उनका छोरा तथा फिल्म अभिनेता अभिषेक बच्चनले पनि आफू पनि सङ्क्रमित भएको जानकारी दिएका थिए।

दुवैलाई ट्विटरमा हजारौँ शुभेच्छुकले स्वास्थ्यलाभको कामना गरेका छन्। त्यसमा बलीवुडका कलाकारदेखि पत्रकार, खेलाडी, राजनीतिककर्मी र सर्वसाधारणलगायत विभिन्न क्षेत्रका मानिसहरू छन्।

ट्विटरमा अमिताभ बच्चनका चार करोड ३० लाखभन्दा बढी र अभिषेक बच्चनका डेढ करोडभन्दा बढी फलोअर छन्।

अभिताभ बच्चनले ट्वीट गर्दै भनेका छन्, मेरो परीक्षण पोजेटिभ देखिएको छ, अस्पतालमा भर्ना भएको छु। अस्पतालले अधिकारीहरूलाई सूचित गरिरहेको छ। परिवारका सदस्य र हाम्रा कर्मचारीहरूको पनि परीक्षण गरिएको छ ।’

उनी ७७ वर्षका छन्। पाँच दशकदेखि हिन्दी फिल्मका स्टार बनेका उनले २०० वटा चलचित्रमा अभिनय गरेका छन्।उनका छोरा ४४ वर्षीय अभिषेक बच्चनले ५० भन्दा बढी चलचित्रमा अभियन गरेका छन्।

उनले ट्वीटमा आफू र आफ्ना बुवालाई सामान्य लक्ष्ण देखिएको जनाएका छन्। अभिषेक बच्चनले सबैलाई शान्त रहन र नआत्तिन आग्रह गरेका छन्। दुवै जना मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएका छन्।

अस्पतालका एक अधिकारीले इन्डियन एक्सप्रेस पत्रिकालाई बताएअनुसार दुवैको स्वास्थ्य अवस्था स्थिर छ। अभिताभ बच्चनले विगत १० दिनमा आफूसँग सम्पर्कमा रहेका सबैलाई परीक्षण गराउन आग्रह गरेका छन्।

महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले समाचारसंस्था एएनआईलाई दिएको जानकारी अनुसार अमिताभ बच्चनकी पत्नी जया बच्चन र बुहारी ऐश्वर्या राय बच्चनको पनि कोरोनाभाइरसको परीक्षण गरिएको छ।

दुवै जनाको परीक्षणको नतिजा आज आउने उनले बताएका छन । बीबीसीबाट