मोरङबाट विप्लव नेकपाका सेक्रेटरी राईको गिरफ्तारी

विष्फोट र हतियार ओसारपसारको आरोप

विराटनगर । विप्लव नेतृत्वको नेकपाका धनकुटा मोरङ दुई जिल्लाका सेक्रेटरी दिपक राईलाई आज प्रहरीले मोरङको केराबारी गाउँपालिका ३ बाट पक्राउ गरेको छ ।

सेक्रेटरी राई त्यहाँ केही समयदेखि सेल्टर लिएर बस्ने गरेको सूचनाका आधारमा प्रहरीको विशेष टोलीले उनलाई प्रकाउ गरेको हो । अहिले नेता राईलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको बुझिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार नेकपामाथि सरकारले प्रतिबन्ध लगायपछि उनी लामो समयदेखि घर छाडेर हिडेका थिए । प्रहरीले उनीमाथि बम, विष्फोट, चन्दा आतंक, हतियार ओसारपसार र चन्दा लगायतका घटनाको आरोप लगाएको छ ।

तर कतिपयले सामाजिक सञ्जालमा सरकारले नेकपासँग वार्ताको हल्ला चलाउँदै अनाहकमा नेता, कार्यकर्ताहरुको गिरफ्तार गरिरहेको भन्दै सरकारको आलोचना समेत गरेको देखिन्छ ।

सामाजिक सञ्जालमा कतिपयले राज्यले राजनीतिक आस्था राखेकै आधारमा विप्लव समूहका नेता, कार्यकर्ताहरुको गिरफ्तार गर्ने र झुट्टा मुद्दामा फसाउने गरेको बताउने गरेका छन ।

नेता राईको गिरफ्तारीको विषयमा विप्लव नेकपाले अहिलेसम्म भने आधिकारीक प्रतिकृया दिएको छैन । तर उसले वार्ताका लागि राज्यले उपयुक्त वातावरण नबनाएको भन्ने विषय यस अघि नै सावृजनिक गरेको छ ।