लागुऔषधसहित दुई जना युवा पक्राउ

आवश्यक अनुसन्धान जारी

सिरहा । सिरहा नगरपालिका १४ खिरौनाबाट नेपाल प्रहरीले लागुऔषध सहित दुई जना युवालाई पक्राउ गरेको छ ।

माडर प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले खिरौना पेट्रोल पम्प अगाडिबाट उनीहरुलाई पक्राउ गरेको हो ।

भारतबाट स १ प ५१०७ नम्बरको मोटर साइकलमा आउँदै गरेका दुई जनालाई चेकजाँच गर्ने क्रममा नाइटरोभे ट्याब्लेट-१५ पिस, डाइलेक्स डिसि-१ बोतल लगायतका लागुऔषध सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ ।

पक्राउ पर्नेमा मोटर साइकल चालक सिरहाको कर्जन्हा नगरपालिका ३ का २० वर्षीय ललन कुमार यादव र मोटर साइकल पछाडि बसेका सोही ठाँउका २६ वर्षीय प्रदिप यादव रहेका छन।

पक्राउ परेका दुबै जनामाथि आवश्यक कार्बाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रबक्ता अपिल राज बोहराले बताएका छन।