आइक्यानद्धारा एनआईसी एशिया बैंकलाई ‘उत्कृष्ठ वित्तीय प्रतिवेदन अवार्ड’ प्रदान

बैंकका प्रमुख न्यौपाने सम्मानित

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड ‘द इन्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल’ (आइक्यान) ले प्रदान गर्ने उत्कृष्ठ वित्तीय प्रतिवेदन अवार्ड २०१८ बाट सम्मानित भएको छ ।

आइक्यानद्वारा हिजो आयोजित एक समारोहबीच अर्थमन्त्री युवराज खतिवडाले बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई उक्त अवार्ड प्रदान गरेका हुन् । अन्य वाणिज्य बैंकहरुका वार्षिक वित्तीय प्रतिवेदनहरुलाई उछिन्दै एन आई सी एशिया बैंकले सो अवार्ड जित्न सफल भएको हो ।

आइक्यानले सन् २००३ देखि हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ठ वार्षिक प्रतिवेदन तयार गर्ने संस्थाहरुलाई सम्मानित गर्दै आइरहेको छ ।

उक्त अवार्ड प्राप्त गर्ने वित्तीय संस्थालाई आफ्नो वार्षिक वित्तीय प्रतिवेदन सरोकारवाला व्यक्ति तथा निकायहरुलाई समयमै उपलब्ध गराउने र सर्वोत्कृष्ठ वित्तीय पारदर्शिताको अभ्यास गर्ने संस्थाको रुपमा लिइन्छ ।

बैंकले नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्स् (एनएफआरएस) को मापदण्ड बमोजिम आफ्ना सरोकारवाला व्यक्ति तथा निकायहरुको आवश्यकता अनुसार पर्याप्त वित्तीय जानकारी उपलब्ध गराएको छ ।

बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले आज एक विज्ञप्ति जारी गर्दै उक्त अवार्डले बैंकलाई थप उल्लेखनीय काम गर्ने हौसला मिलेको र बैंकले आगामी दिनमा वित्तीय क्षेत्रमा आफ्नो उत्कृष्ठ प्रदर्शन तथा वित्तीय पारदर्शिताको अभ्यास कायम राख्ने प्रतिबद्धता जनाएका छन ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २९२ शाखा कार्यालयहरु, ३१० एटिएम, ५१ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बताइएको छ ।

१७ लाखभन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको उक्त बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।