विप्लव नेकपाद्धारा नेता गिरफ्तारको कडा शब्दमा विरोध: हेर्नुहोस् आयो यस्तो विज्ञप्ति….

चेतावनी: बिना सर्त रिहा नगरे गम्भिर अवस्था आउने

तनहुँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारले वार्ताको प्रचार गर्दै आफ्ना नेता, कार्यकर्ताहरु गिरफ्तार गर्दै फासिवादी चरित्र प्रदर्शन गरेको आरोप लगाएको छ ।

विप्लव नेकपाका तनहुँ जिल्ला सदस्य तथा युवा संगठनका जिल्ला अध्यक्ष नेत्र थपा र युवा संगठनकै जिल्ला सचिव दृष्टिलाई साउन ७ गते प्रहरीले बिना कारण गिरफ्तार गरेको भन्दै जिल्ला इन्चार्ज पूर्णजीत पुन र सेक्रेटरी आनन्दले आज उक्त घटनाको घोर भत्र्सना तथा निन्दा गर्दै त्यस्तो आरोप लगाएका हुन ।

नेकपाका जिल्ला इन्चार्ज पुन र सेक्रेटरी आनन्दले संयुक्त रुपमा जारी गरेको उक्त विज्ञप्तिमा युवा संगठनका नेताहरुलाई प्रहरीले दमौली बजारबाट विना कारण गिरफ्तार गरेको भन्दै विना सर्त स–सम्मान रिहा गर्न आग्रह समेत गरेका छन् ।

विज्ञप्ति मार्फत आफ्ना नेता, कार्यकर्ताहरुलाई रिहा नगरे गम्भिर परिणाम भोग्नुपर्ने भन्दै उनीहरुले राज्यलाई चेतावनी समेत दिएका छन ।

उनीहरुले भनेका छन–‘सामाजिक दलाल फासिवादी सरकारले अनावश्यक धरपकड र दमनलाई जारी राख्ने हो भने त्यसको परिणाम गम्भीर हुने चेतावनी दिन चाहन्छौं । उत्पन्न गम्भीर स्थितिको सम्पूर्ण जिम्मेवारी नालायक फासिवादी सरकारले नै लिनुपर्नेछ ।’

पछिल्लो चरणमा सरकार र नेकपाबीच वार्ताको चर्चा चलिरहेको बेला समेत विप्लव नेकपाका नेता, कार्यकर्ताहरुमाथि पक्राउ, गिरफ्तारीका घटनाहरु रोकिएका छैनन ।

यसलाई कतिपयले कारबाहीको शैलीमा विप्लव समूहलाई ठेगान लागाउने सरकारको नीतिका रुपमा समेत ब्याख्या गर्ने गरेका छन । विज्ञप्तिको पूर्णपाठ यस्तो छ….

नेपाल कम्युनिस्ट पार्टी

जिल्ला समिति, तनहुँ

मितिः२०७६/०४/०८

प्रेस विज्ञप्ति

             यतिवेला कथित दुई तिहाइ बहुमतको नामधारी कम्युनिस्ट सरकार लगातार फासिवादी अभ्यासमा मैमत्त छ । देशको समस्याहरु झन्झन् विकराल बन्दैछन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका अहम् प्रश्नहरु सरकारले समाधानतिर होइन थप बल्झाउँदै लगेको छ । मुलुकको मुल समस्यालाई वैज्ञानिक र दिर्घकालिन समाधान दिनका निम्ति हाम्रो पार्टीले आफ्नो स्पष्ट दृष्टिकोण, विचार, नीति, सिद्धान्त र कार्यक्रमसहित एउटा ऐतिहासिक राजनैतिक जिम्मेवारीकासाथ सक्रिय भइरहेको छ, तर केपी–बादल मण्डलीको फासिवादी सरकारले निर्लज्जतापूर्वक असंवैधानिक, निरंकुश र फासिवादी अहंकारसहित हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाएको छ । राजनैतिक शक्तिहरु, नागरिक समाज, मानवअधिकारवादी, बुद्धिजीवी, पत्रकार, विभिन्न व्यक्तित्वहरु र आम नेपाली जनताले प्रतिबन्ध र राज्य आतंकको विरोध गर्दागर्दै पनि विदेशी प्रभुको गुलामीमा तल्लीन दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीका नेता, कार्यकर्ता, सहयोगी, शुभचिन्तकहरुलाई दमन गर्ने, झुठा मुद्दा लगाउने, हत्या गर्ने जस्ता हिटलरी हर्कत नाङ्गोरुपमा जारी राखेको छ । हिजो मात्रै हाम्रो तनहुँ जिल्ला पार्टी सदस्य तथा युवा संगठन नेपालका तनहुँ जिल्ला अध्यक्ष कमरेड नेत्र थापा र युवा संगठन नेपालका जिल्ला सचिव कमरेड दृष्टिलाई जिल्ला प्रहरी कार्यालय तनहुँले दमौली बजारबाट विना कारण गरेको गिरफ्तारीप्रति हाम्रो पार्टी घोर भत्र्सना र निन्दा गर्दछ । साथै कमरेड नेत्र र कमरेड दृष्टिलाई विना सर्त स–सम्मान रिहा गर्न आग्रह गर्दछ ।

हाम्रो पार्टी शान्तिपूर्ण भेला, सम्मेलन, जनभेटघाट र सामाजिक अभियानहरुमा रहेको यो बेला सामाजिक दलाल फासिवादी सरकारले अनावश्यक धरपकड र दमनलाई जारी राख्ने हो भने त्यसको परिणाम गम्भीर हुने चेतावनी दिन चाहन्छौं । उत्पन्न गम्भीर स्थितिको सम्पूर्ण जिम्मेवारी नालायक फासिवादी सरकारले नै लिनुपर्नेछ । तनहुँमा राजनैतिक आवरणधारी केही स्यालहरुलाई सचेत पार्न चाहन्छौं कि हाम्रा कार्यकर्ता, सहयोगी र शुभचिन्तकहरुलाई अराजनैतिक रुपमा विभिन्न हतकण्डाहरु प्रयोग गर्ने, प्रशासनको दुरुपयोग गर्ने, गिरफ्तार गराउने, मानसिक यातना दिने, अनैतिक र लज्जित तमसुकमा हस्ताक्षर गराउने जस्ता मरेको बाघको जुंगा उखेल्ने बदनियतपूर्ण दुष्कर्म नगर्न हाम्रो पार्टी आग्रह गर्दछ । प्रहासनले पनि प्राकृतिक सम्पदाको दोहन गर्ने, गुण्डागर्दी गर्ने, दलाली गर्ने, भ्रष्टाचार गर्ने, कमिसन खाने तथा माफियाहरु र लुटतन्त्र मच्चाउनेहरुको दास नबन्न र संरक्षण नगर्न हाम्रो पार्टी गम्भीरतापूर्वक आग्रह गर्दछ ।

……..                                                                                                                                        ………….
क. आनन्द                                                                                                                      क. पूर्णजीत पुन
सेक्रेटरी                                                                                                                                        इन्चार्ज