प्रेस सेन्टरको विशेष राष्ट्रिय भेला सम्पन्नः अध्यक्षमा जैसी, २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित

संघर्षका कार्यक्रमहरु तयः विज्ञप्तिसहित हेर्नुहोस्

काठमाडौं । देशका सातै प्रदेशबाट राजधानीमा भेला भएका पत्रकारहरुले प्रेस सेन्टर नेपालको पुनः गठनसहित भव्य रुपमा विशेष राष्ट्रिय भेला सम्पन्न गरेका छन । लामो समयदेखि जनपक्षिय पत्रकारीता गर्दै आएका पत्रकार लोकराज जैसीको अध्यक्षतामा सम्पन्न उक्त विशेष भेला सम्पन्न भएको हो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोेपाल किरातीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले संगठनको राष्ट्रिय सम्मेलनलाई गति दिने गरी पत्रकार जैसीको अध्यक्षतामा २५ सदस्यीय केन्द्रिय समिति निर्वाचित गरेको छ ।

भेलामा अध्यक्ष जैसीले तयार गरेको संगठनको प्रस्तावित प्रतिवेदनमाथि भएको छलफलपछि त्यसमाथि हलबाट आएका सुझावहरु समेट्दै सर्व सम्मतले पाश पारेको थियो । भेलामा सबै प्रदेशका विभिन्न जिल्लाबाट पत्रकारहरुको सहभागिता रहेको थियो ।

भेलाले श्रमजिवि पत्रकारहरुको हक, हित र अधिकारको लागि सरोकारवाला निकायसँग छलफल, अन्तरक्रिया, गोष्ठि तथा पत्रकारको क्षमता अभिवृद्धिमूखि विविध कार्यक्रमहरु समेत सञ्चालन गर्ने तय निर्णय गरेको अध्यक्ष जैसीले सोमबार विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

त्यसैगरी सानो लगानीका मिडियाहरुको संरक्षण, संबद्धनको पक्षमा दवावमूलक कार्यक्रम गर्ने, समानुपातिक विज्ञापन प्रणालिको कार्यान्वयन, राज्यले मिडियालाई हेर्ने विभेदकारी नीतिका विरुद्ध संघर्ष गर्ने लागयतका कार्यक्रमहरु तय गरेको छ ।

पत्रकारहरुको पेशागत हक, अधिकार प्राप्तिको आन्दोलनमा मुद्दा मिल्ने अन्य संघ, संगठनहरुसँग कार्यगत एकतामा समेत जोड दिने नीति प्रेस सेन्टर नेपालले बनाएको बुझिएको छ ।

जैसीले जारी गरेको विज्ञप्तिमा आफ्नो संगठन पेशागत हक, अधिकार प्राप्तिको लागि सधैं आवाज उठाउँदै अघि बढ्ने बताएका छन । जैसीले पछिल्लो समय सरकारले ल्याएको विभिन्न ऐन, कानुनहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रमाथि अंकुश लगाउने काम गरेको भन्दै विरोध जनाएका छन ।

त्यसैगरी सरकारले ल्याउने तयारी गरेको प्रेस काउन्सिल विधयकको विरोधमा नेपाल पत्रकार महासंघको अगुवाईमा पत्रकार सम्बद्ध सबै संघ, संगठनहरु र बुद्धिजिवि वर्गहरुको व्यापक दवावपछि सुधारको कुरा गरिएको भएपनि त्यसमा ढुक्क हुने अवस्था अझै नरहेको भन्दै सजगता अपनाउनुपर्नेमा अध्यक्ष जैसीले जोड दिएका छन ।

प्रेस सेन्टर विभिन्न जिल्ला तथा प्रदेशहरुमा संगठन विस्तार गर्दै भव्य रुपमा छिट्टै राष्ट्रिय सम्मेलन गर्ने तयारीमा अघि बढेको छ । सम्मेलनको तयारीका लागि तल्लो कमिटि निर्माण संगठनले जोड दिएको छ ।

प्रेस सेन्टर नेपाल

केन्द्रीय समिति, काठमाडौं ।

मितिः २०७६/०४/०७

प्रेस–विज्ञप्ति

देशका विभिन्न स्थानहरुबाट राजधानीमा जम्मा भएका पत्रकारहरुको भेलाले हालै प्रेस सेन्टर नेपालको पुनः गठनसहित विशेष राष्ट्रिय भेला सम्पन्न गरेको विषय जानकारी गराउँन पाउँदा हामी अत्यन्त खुशी भएका छौं । लामो समयदेखि देशभक्त तथा जनपक्षिय पत्रकारीता मार्फत दमित, पीडित, शोक भोक र अभाव अनि सम्भावनाका आवाजविहिन आवाजहरु सम्प्रेषण गर्दै आएका पत्रकारहरु सहभागि भेला ललितपुरमा सानदार रुपमा सम्पन्न भयो । जनपक्षिय पत्रकार लोकराज जैसीको अध्यक्षता र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीको प्रमुख उपस्थिती र पार्टीका सचिव राजन तिमिल्सैनाको विशेष उपस्थितीमा सम्पन्न उक्त भेलाले लोकराज जैसीको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति गठन गर्यो । स्थानीय, जिल्ला, प्रदेश स्तरमा संगठन विस्तार गर्दै राष्ट्रिय सम्मेलनको तयारी गर्ने निर्णयसहित संगठनले त्यसका लागि जिम्मेवारी समेत बाडफाँड गरियो ।

दशबर्षे महान जनयुद्ध र जनताको अधिकार प्राप्तिको लागि भएका सबै आन्दोलनहरुमा सहादत भएका महान शहीदहरुप्रति श्रद्धाञ्जली गर्दै शुरु भएको उक्त भेलामा संगठनका अध्यक्ष जैसीबाट पाँच पृष्ठ लामो संगठनको प्रस्तावित प्रतिवदन पेश गरियो । भेलामा सहभागि प्रतिनिधि पत्रकारहरुले उक्त प्रतिवेदनमाथि छलफल गरे । प्रतिवेदनलाई हलबाट आएका सुझाव समेट्दै पुर्णता दिने गरी सर्वसम्मतले पारित गरियो । त्यसैगरी संगठनले आगामि कार्यक्रमहरु र राज्यले ल्याएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी ऐन, कानुन र विधेयकहरुको विषयमा समेत गहन छलफल चलायो । संगठनले आगामि दिनमा पत्रकारको क्षमता अभिबृद्धिमूलक तालिम, प्रशिक्षण चलाउने, श्रमजिवि पत्रकार ऐनको कार्यान्वयन गर्ने, साना लगानीका मिडियाको संरक्षण, संवद्धन गर्न खबदारी गर्ने, समानुपातिक विज्ञापन प्रणालीको कार्यान्वयन गर्न दवाव दिने, राज्यको मिडियालाई हेर्न विभेदकारी नीति लगायतका विषयमा आवाज उठाउँदै मुद्दा मिल्ने अन्य संघ, संगठनहरुसँग संयुक्त रुपमा थप संघर्षका कार्यक्रम गर्नमा जोड दिने नीति बनायो ।

कार्यक्रमको अन्त्यमा भेलाबाट केन्द्रीय समितिमा निर्वाचित पत्रकारहरुमाझ पार्टी अध्यक्ष र पार्टी सचिवले पत्रकारीता र पार्टीबीचको सम्बन्धको विषयमा प्रशिक्षणमूलक भनाई राख्नुभयो । पार्टी अध्यक्षले पत्रकारको भूमिका पार्टी आन्दोलनमा महत्वपूर्ण हुने भन्दै उत्पीडित, वर्ग समूदायका समस्या र पीडा, अभावहरुको विषयमा जनपक्षिय पत्रकारहरुले कलम चलाउनुपर्नेमा जोड दिनुभयो । अन्त्यमा संगठनका अध्यक्षबाट निर्वाचित पत्रकारहरुलाई तोकिएको जिम्मेवारी बोद्य गर्दै देश र जनताको पक्षमा कलम चलाउन र संगठनको सम्मेलनमा विशेष जोड दिन निर्देशन सहित कार्यक्रमको समापन भयो । अभिवादन सहित !

……..
लोकराज जैसी
अध्यक्ष
प्रेस सेन्टर नेपाल, केन्द्रीय समिति