विप्लव समूहको गतिविधि अस्पष्ट देखिन्छः मोहन बैद्य किरण

राष्ट्रघात–जनघात विरुद्धको संघर्षमा जोड

जनकपुर । नेत्रविक्रम चन्द विप्वल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधि निरन्तर क्रान्तिको पक्षमा नदेखिएको संकेत गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहनबैद्य किरणले उसको कार्यदिशालाई अस्पष्ट भनेका छन ।

पार्टीको आन्तरिक बैठक, छलफलको क्रममा प्रदेश नम्बर दुईको जनकपुर पेगेका नेता बैद्यले हिजो त्यहाँ आयोजित पत्रकार सम्मेलनमा त्यस्तो कुरा बताएका हुन । उनले विप्लवले जनक्रान्ति गरिरहेका छन् कि जनसंघर्ष स्पष्ट हुन नसकेको भन्दै प्रश्न गरे ।

पत्रकारहरुको प्रश्नमा उनले राजनीतिक मुद्धा बोकेको पार्टीसँग सरकारले राजनीतिक व्यवहार गर्दै समस्याको समाधान गर्नुपर्नेमा प्रतिबन्ध लगाएर गलत गरेको बताए । उनले प्रतिबन्धबाट समस्याको समाधान हुन नसक्ने समेत बताए ।

उनले मुलुकमा ओली सरकारले जनताको हक अधिकारमाथि हनन गर्ने खालका क्रियाकलाप गरिरहेको भन्दै त्यसलाई सच्याउनुपर्नेमा जोड दिए । उनले आफ्नो पार्टी सबै खाले राष्ट्रघात, जनघातको विरोधमा सशक्त आन्दोलनको तयारीमा रहेको समेत बताए ।

उनले भने–उत्पीडित वर्ग, समदाय अर्थात् वर्गीय मुक्ति, पहिचानका साथै मधेशी, मुश्लिम, दलित, आदिवासी जनजातिहरुको अधिकार अझै पूरा भएका छैनन, हामी क्रान्तिको प्रकृया मार्फत जनताको व्यवस्था ल्याउने तयारीमा यतिबेला जनतालाई बुझाउदै अघि बढेका छौं ।

बैंद्यले वर्तमान संविधानलाई अपाङ्गताको उपनाम दिदै त्यसले सर्वहारा वर्गको मुक्ति र अधिकार नदिएको प्रष्ट पारे । उनले जनताको संविधान बनाउनका लागि थप संघर्षको आवश्यकता औल्याएका थिए ।