आज ४१ औं पुष्पलाल स्मृति दिवसः राजधानीमा माओवादी केन्द्र र माक्र्सवाद विचार मञ्चको संयुक्त कार्यक्रम

कम्युनिस्ट नेता श्रेष्ठको योगदानको चर्चा गरिने

ललितपुर । आज कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवस विभिन्न नाममा रहेका सबै कम्युनिस्ट पार्टीहरुले विविध कार्यक्रम गरी मनाउने गर्दछन । नेता श्रेष्ठको स्मृतिमा आज नेकपा (माओवादी केन्द्र) लागायत अन्य पार्टी र समूहहरुले समेत कार्यक्रमको आयोजना गरेका छन ।

नेकपा (माओवादी केन्द्र) का सचिव राजन तिमिल्सिनाका अनुसार आज ललितपुरको सातदोबाटो स्थित माननधर विल्डिङ्मा दिउँस एक बजे पुष्पलाल स्मृति दिवसको सन्दर्भमा गोष्ठिको कार्यक्रम गरिन लागेको हो ।

माओवादी केन्द्रका सचिव तिमिल्सिनाले हरपल नेपालसँगको कुराकानीका क्रममा उक्त कार्यक्रममा पार्टीका शिर्ष नेता, कार्यकर्ताहरुका साथै अन्य कम्युनिस्ट पार्टी, समूह र आस्थावानहरुको बाक्लो उपस्थिति हुने बताएका छन ।

नेता तिमिल्सिनाले उक्त कार्यक्रममा सबैलाई सहभागिताको लागि निमन्त्रणा समेत गरेका छन । उक्त कार्यक्रममा पुष्पलालले सामाजिक व्यवस्था परिवर्तनको लागि खेलेको भूमिकाको विषयमा चर्चा गरिने बुझिएको छ ।

उक्त कार्यक्रम नेकपा (माओवाद केन्द्र) र माक्र्सवाद तथा पुष्पलाल विचार मञ्चको संयुक्त आयोजनामा हुन लागेको हो । उक्त कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराती, विचार मञ्चका संयोजक उदयराज अधिकारी लागायत मुख्य वक्ताको रुपमा रहने बुझिएको छ ।

राजधानी लगायत देशका विभिन्न स्थानमा आज कम्युनिष्ट पार्टीका संस्थापक नेता श्रेष्ठको स्मृतिमा विविध कार्यक्रमहरु गरिन्छन् । अन्य पार्टी र संघ संस्थाहरुले समेत देशैभरी आज विविध कार्यक्रमहरुको आयोजना गरेका छन ।

पुष्पलालले २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना गर्दा सम्मुन्नत राष्ट्र निर्माण गर्दै जनताको मुक्तिको अभिभारा पूरा गर्ने लक्ष्य राखेका थिए । उनी नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव हुन।

वि.सं १९८१ असारमा रामेछापमा जन्मिएका श्रेष्ठेले त्यतिबेला भारतको कोलकतामा कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । उनलाई वैचारिक–राजनीतिक पक्षमा सशक्त र जनप्रिय नेताका रुपमा लिइन्छ ।

श्रेष्ठले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषिक्रान्तिको आवश्यकता अझै पनि सान्दर्भिक रहेको देखिन्छ । उनले त्यतिबेला भनेका धेरै विषयहरु अहिलेसम्म पनि निक्कै अर्थपूर्ण रहेको कम्युनिस्ट नेताहरुले बताउने गरेका छन ।