शुल्क बृद्धिको विरोधमा उत्रिएको अखिल क्रान्तिकारी र क्याम्पस प्रशासनबीच भयो यस्तो सहमती

सहमती कार्यान्वयन नभए पुन विरोधमा उत्रिने चेतावनी

कैलाली । शुल्क बृद्धिको विरोध गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकटको अखिल क्रान्तिकारीले कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा लगाएको ताला द्ई पक्षिय सहमतीपछि आज खोलिएको छ ।

अखिल क्रान्तिकारी कैलाली र क्याम्पस प्रशासनबिच शुल्क बृद्धिको विषयमा समायोजना गर्ने लगायतको लिखित सहमती भएपछि आज ताला खोलिएको हो । उक्त विषयमा अखिल क्रान्तिकारी कैलालीका अध्यक्ष पुष्पराज जोशीले हरपललाई बताएका हुन ।

अखिल क्रान्तिकारी कैलालीले केहीदिन अघि सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको दुर्गा लक्ष्मी क्याम्पस प्रशासनले मनोमानी ढंगले विद्यार्थीबाट शुल्क बृद्धि गरेको भन्दै विज्ञप्ति मार्फत चेतावनी दिएको थियो ।

शुल्क बृद्धिको विरोधमा आइतबार अखिल क्रान्तिकारीले क्याम्पस प्रशासन र लेखा शाखामा लगाएको ताला आज खोलिएको बताइएको छ ।

आज क्याम्पस प्रशासनसंगको छलफलबाट शुल्क समायोजन गर्ने सहमति पछि ताला खोलिएको अखिल क्रान्तिकारीले बताएको छ ।

उक्त सहमती पत्रमा क्याम्पस प्रमुख डम्बरबहादुर पाल र अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एबम् जिल्ला अध्यक्ष जोशीले हस्ताक्षर गरेका छन ।

अखिल क्रान्तिकारीले उक्त सहमती अक्षरस कार्यान्वयन नभएमा आफ्नो संगठन विद्यार्थिहरुको हक, अधिकारको लागि फेरी आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएका छन ।