‘बामपंथ-पूँजीपती वर्गबीचको अवैध सम्बन्ध र लाल पूँजीपती वर्गको उदय’

‘लोकतन्त्र झूट र घूसखोरीे व्यवस्था हो’

समकालीन सम्भ्रान्तवर्ग आफ्नो शोषणलाई बैधानिकीकरण गर्ने माध्यमका रुपमा प्रजातान्त्र वा लोकतन्त्रको मन्त्रोचारण गर्दछन । पूँजीवादीहरुले आफ्नो शोषण र लुटको साम्राज्यलाई निरन्तरता दिनको लागि स्वतन्त्रता र मानवअधिकारको नाममा लोकतन्त्रको कुरा गर्नु उनीहरू आफ्नो धर्म सम्झन्छन् । विश्वब्यापी रुपमा लोकतन्त्र झूट, घूसखोरी र छलछामको पाखण्डीपूर्ण फोहोरी व्यावसाय हो भन्ने कुरा प्रमाणित भैसकेको छ । लोकतन्त्रलाई मतदान गर्ने स्वतन्त्रताको आधार मान्दै मतदाता खरिदबिक्री गर्ने चुनावी दाउपेच र जोडघटाउको रुपमा प्रयोग गरिन्छ । सत्ताधारी वर्ग सदैव सामन्त, दलाल र पूँजीपती वर्गको स्वार्थ रक्षाको औजारको रुपमा भ्रष्टिकरण भएको हुन्छ । यो नै पूँजीवादी प्रजातन्त्र वा लोकतन्त्रको असली दर्शन हो ।

समकालीन बिश्वमा पश्चिमा पूँजीवादी संसदीय प्रणाली सबैखाले शोषण उत्पीडन र अवसरवादी प्रबृत्तिहरुको प्रजनन्भूमी हो। बुर्जुवा लोकतन्त्र र राजनीतिसित क्रान्तिकारीहरुलाई सहवरण गराउने र गैर क्रान्तिकारीकरण गर्ने, उनीहरूलाई सभ्य बनाउने साथै हानीरहित संसदवादीमा परिणत गराउन संसदवादी बुर्जुवा वर्गले अनेकन प्रयत्न गर्दछन । बुर्जुवा लोकतन्त्रको संसदीय फोहोरी आहालको प्रर्दुषणले क्रान्तिकारी पार्टीलाई बुर्जुवावर्गको सेवकको रुपमा पतित् गराउछ । क्रान्तिकारी नेतृत्व अवसरवादमा फसेपछि संसदीय व्यवस्थाबाटै आमूल क्रान्ति हुने दिवास्वप्न देखाएर जनतालाई भ्रमित पर्नु र छद्मभेशी क्रान्तिकारी बनिरहनु उनीहरुको चलाखीपूर्ण पाखण्ड हो ।

क्रान्तिकारीहरुले हमेसा जनतालाई जाग्रित गर्न र संसदीय फोहोरी खेल विरुद्धको संघर्षमा आफूलाई पारंगत बनाउदै यसको असली स्वरुपले जनताको जीवनमा परेको असरवारे ध्यानाकर्षण गराउनु पर्दछ । जनता नै इतिहासका महान निर्माता हुन सबै राजनीतिक परिवर्तन उनीहरूकै देन हुदाहुदै पनि सत्तासंग उनीहरूको कुनै साइनो र सम्बन्ध हुदैन ।विगतमा जनतालाई भ्रमित बनाउदै आफ्नो नश्लवादी राजनीतिक बलियो बनाउन लाल संभ्रान्तवर्गले जनतालाई क्रान्तिमा होमी हाल उनीहरुमाथि शासन लाद्दै गरेको छ । उनीहरुले आफूलाई लाल पूँजीपती वर्गको रूपमा छुट्टै सम्भ्रान्तवर्गमा जन्म गराएको छ । पूँजीपती वर्ग र बामपंथबीच अवैध गर्वधारणबाट जन्मने नयाँ वर्ग नै लाल पूँजीपती वर्ग हो । जसको नेतृत्व खड्ग ओली प्रचण्ड मण्डलीले गर्दै आएका छन ।

(लेखक तिमिल्सैना नेकपा माओवादी केन्द्रका नेता तथा सामाजिक व्यवस्था रुपान्तरणका अभियन्ता हुन समेत हुन । उनी वर्गिय समाज र त्यसले पारेको प्रभावबारे बेला बसत लेख, रचनाहरु लेख्ने गर्दछन् ।)