किन चन्द्रमाको आकाशमा अन्तरिक्ष केन्द्र बनाउन चाहन्छ अमेरिका ? पुरै पढ्नुहोस्..

चन्द्रमामा मानव भविष्य र बसोबासबारे महत्वपूर्ण खोज

काठमाडौं । नयाँ अन्तरिक्ष युगको आशंकाका रूपमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सन् २०२४ सम्म चन्द्रमामा पुन मानव पाइला राख्न चाहन्छन्। तर चन्द्रमामा मानव पाइलाका लागि के गर्नुपर्छ, त्यो विषयमा यहाँ चर्चा गर्न जरुरी छ ।

एउटा १२ पाङ्ग्रे वाहन खैरो धुलो उडाउँदै नौलो सतहमा छाप छोड्दै हिँड्छ। त्यो अन्तरिक्ष ट्रकमा वायुचाप नियन्त्रित खण्ड छ जहाँ अन्तरिक्ष यात्रुहरू अन्तरिक्ष पोशाक नलगाइ नै श्वास फेर्नसक्छन्।

उनीहरू आफ्नो मूल कार्यस्थानभन्दा केही किलोमिटर पर दिनभर पानी(हिउँ अवशेष भएको स्थानको अध्ययन गरेर थाकेका छन्। यो सन् २०५० को चन्द्रमा हो।

एउटा वाहन एउटा विशाल खाल्डोको एक छेउमा गुडिरहेको छ र अन्तरिक्षयात्रीहरू सो वाहनमा जडिएको ऐना टल्केको हेरिरहेका छन्। त्यो ऐनाले सूर्यको किरणलाई खाण्डोतिर प्रतिविम्बित गरेर त्यहाँ भइरहेको पानी हिउँको अवशेष खन्ने कामलाई ऊर्जा प्रदान गरिरहेको छ।

त्यसको देब्रेतिर एउटा ट्रक अवतरण स्थल नजिकैबाट जान्छ। त्यो अवतरण स्थल चन्द्रमाको माटोलाई माइक्रोवेभ प्रविधिले सम्म बनाइएको हो र त्यहाँ चन्द्रमाबाट पृथ्वीतिर प्रक्षेपणका लागि तयार यान रहेको छ।

चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको मूल कार्यस्थलका गोलाकार प्रवेशस्थानमा वाहन रोकिन्छ। अन्तरिक्ष यात्रुहरू वायुरहित बाटो हुँदै आवासस्थलमा प्रवेश गर्छन् र आफ्नो धुलो भरिएको अन्तरिक्ष पोशाक खोल्छन्।

भित्र साग र आलु उम्रिरहेको हरितगृह एलइडी प्रकाशमा चम्किरहेको छ। अन्तरिक्षयात्रुहरू एक तल्ता माथि उक्लन्छन् जहाँ उनीहरूलाई नेतृत्व गर्ने यात्रु उनीहरूबाट दिनभरको प्रगति विवरण सुन्न आतुर छन्।

उहिलेका लागि यो अवस्था कपोकल्पित लाग्छ। तर यो मानिसहरू चन्द्रमामा जिउँने र काम गर्ने एउटा तरिका संभावित तरिका हो।

यदि चन्द्रमामा लामो समय बस्न र काम गर्न मिल्ने स्थान निर्माण गर्ने हो भने हामीलाई जे चाहिएको छ त्यो चन्द्रमामा उपलब्ध स्रोतबाटै परिपूर्ति गर्नुपर्छ। हाना सार्जेन्ट मेरो पुस्ताको मानिसहरूले अवश्य नै यो कुरा देख्नेछन्।

यूकेको मिल्टन किन्सस्थित ओपन युनिभर्सिटीको प्रयोगशालामा विद्यावारिधि विद्यार्थी हाना सार्जेन्ट चन्द्रमामा धेरै पाइने खनिज इल्मेनाइट प्रयोग गरेर त्यस्तो कसरी गर्न सकिन्छ भनेर अध्ययन गरिरहेकी छन्।

एउटा सानो भट्टीभित्र इल्मेनाइटबाट अक्सिजन निकाल्न त्यसलाई तताइँदैछ। निकालिएको अक्सिजनलाई हाइड्रोजनसँग मिलाएर पानी बनाइन्छ।

“चन्द्रमामा रहेको चट्टानहरूबाट पानी निकाल्ने २० भन्दा बढी तरिका छन्। इल्मेनाइटमा हामी काम गरिरहेको कारण चाहीँ चन्द्रमामा त्यो धेरै मात्रामा पाइनु र यसबाट पानी निकाल्ने प्रक्रियाका लागि आवश्यक कम ऊर्जा हो,” उनी भन्छिन्।

उनी सन् १९७२ यता पहिलो पटक चन्द्रमामा मानिस उत्रने संभावनाले उत्साहित छिन्। उनले भने “मलाई लाग्छ मेरो पुस्ताको मानिसहरूले यस्तो भएको देख्नेछन्। मेरो जीवनकालामा नै चन्द्रमाको आकाशमा एउटा स्थायी आवसीय यान हुने र त्यहाँबाट मानिसहरू चन्द्रमाको सतहमा आउजाउ गरिरहने कुरामा म पूर्ण विश्वस्त छु।”

सन् २०१७ मा अमेरिकी अन्तरिक्षयात्रीलाई चन्द्रमा र अन्य गन्तव्यमा पुर्याउने अन्तरिक्ष नीतिमा डोनल्ड ट्रम्पले हस्ताक्षर गरे। नासाले सन् २०२८ सम्ममा त्यस्तो गरिसक्ने लक्ष्य राखेको बताएको छ।

तर हालै ट्रम्प प्रशासनले सो समयसीमालाई सन् २०२४ मा सार्न निर्देशन दिएको छ। यदि ट्रम्प पुर्ननिर्वाचित भएको खण्डमा सो समय उनकै कार्यकालमा पर्ने छ।

यसपटक नासा नयाँ तरिका अपनाउन चाहन्छ। बुध ग्रहलगायत अन्य अन्तरिक्ष अन्वेषण गर्ने योजनामा चन्द्रमा एउटा अंश मात्रै हो र नासा चन्द्रमामा त्यसका लागि एउटा केन्द्र स्थापना गर्न चाहन्छ।

“हामी चन्द्रमामा अवतरण गरेर पाइला र झण्डा छोडेर फेरी ५० वर्ष चुप लागेर बस्न चाहन्नौँ,” नासाका प्रशासक जिम ब्राइडेस्टाइनले भनेका छन्। “हामी यान, रोबोट, वाहन र मानवहरू त्यहाँ दिगोरूपमा बस्ने गरि जान चाहन्छौँ ।

तर के नासाले त्यसका लागि आवश्यक सामग्रीहरू नबनेको वा बनेपनि परीक्षण नभएको अवस्थाबाट त्यहाँसम्म पुग्न र सफलतापूर्वक फर्कन समयसीमाभित्र काम गर्न सक्छ ?

“यो असहज हुनेछ,” जर्ज वाशिङ्टन विश्वविद्यालयमा राजनीतिशास्त्र र अन्तर्राष्ट्रिया मामिलाका प्राध्यापक जोन लग्स्डन भन्छन्। “तर यदि हामी एकस्तरको असहजता ग्रहण गर्न चाहदैनौँ भने यहि रहनु उत्तम हुन्छ। मूल कुरा असहजतालाई क्रियाकलापसँग सन्तुलनमा राख्नु हो।”

नासाका यसअधिका परियोजनाहरूलाई ग्रीक ईश्वर अपोलोको नाम दिइएको थियो। अबको परियोजना अपोलोको जुम्ल्याहा बहिनी आर्टेमिसको नाममा हुनेछ र अहिले नै नासाको को अन्तरिक्षयात्री चन्द्रमामा पाइला टेक्ने पहिलो महिला हुनेछ भनेर अनुमान शुरू भइसकेको छ।

नासासँग ३८ जना सक्रिय अन्तरिक्षयात्री छन् जसमा १२ जना महिला छन्। उनीहरूमध्येका केट रुबिन्स पृथ्वीको घातक रोगहरूबारे अध्ययन गरेकी सूक्ष्मजीव वैज्ञानिक हुन् भने जीनेट इप्स सीआइएमा प्राविधिक काम गरेकी हुन्।

चिकित्सक सेरेना ओनोन चान्सेलर र इलेक्ट्रिक इन्जिनियर क्रिस्टिना कोच पनि छन्। जिम ब्राइडेस्टाइनले हालै सीएनएनलाई भनेका छन् । “चन्द्रमामा टेक्ने यस्तो व्यक्ति हुनेछ जसको शीप प्रमाणित छ, जो उडिसकेको र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगिसकेको हुनेछ।”

तीनपटक अन्तरिक्ष यानको यात्रा गरेकी स्टेफनी विल्सनसँग सबैभन्दा बढी उडानको अनुभव छ। ट्रेसी काल्डवेल र सुनिता विलियम्स दुई(दुई पटक उडेका छन्।

“अहिलेको अवस्थामा हामी अन्तरिक्षयात्रीसँग पहिलेभन्दा धेरै काम गर्न सक्ने क्षमता र प्रदर्शन हेर्छौँ,” नासा अन्तरिक्षयात्री तथा यूकेको एक्सटर विश्वविद्यालय चिकित्सा विद्यालयका मानार्थ प्राध्यापक माइकल बारेट भन्छन्।

“आजका अन्तरिक्षयात्री बहुराष्ट्रिय यानमा उड्छन् र अन्तरिक्षमा हिँड्ने, रोबोटसञ्चालित हात चलाउन, धेरै प्रकारका प्रणालीसँग अभ्यस्त, अँग्रेजी र रुसी भाषा जान्ने र छ महिनासँग एक्कै सानो स्थानमा रहन सक्ने गुण भएको हुनुपर्छ।” तर पृथ्वीबाहिर निस्केपछि अरू कुन चुनौती सामना गर्नुपर्छरु

अन्तरिक्षमा मानव शरीरमा आउने परिवर्तनका बारेमा धेरै थाहा भइसकेको छ। “मलाई के लाग्छ भने हामी साँच्चै नै अर्को ग्रहको जीवजस्तो हुन्छौँ,” चिकित्सक समेत रहेका बारेट भन्छन्। “तपाईँको शरीर परिवर्तन हुन्छ, त्यसले कसरी काम गर्छ त्यो परिवर्तन हुन्छ। यो वास्ततमा उल्लेखनीय परिवर्तन हो”

अन्तरिक्षयात्रीहरूले चन्द्रमाको सतहमा काम गर्दा चुनौतीको सामना गर्नुपर्छ। “पृथ्वीको भन्दा छ भागको एक भाग जति मात्रै गुरूत्वाकर्षण हुने भएपनि उनीहरूले गर्हौ पोशाक लगाउनुपर्छ एवम् अन्वेषणका लागि खन्ने, उक्लने र झिक्ने यन्त्रहरू बोक्नुपर्छ जसले खतरा बढाउँछ।”

अन्तरिक्षयात्री लड्दा हड्डी भाँच्चिने वा पोशाकमा प्वाल पार्ने खतरा हुन्छ। चन्द्रमाको धुलोको पनि समस्या छ। अपोलोका यात्रीहरूको पोशाकभित्र धुलो छिर्दा खोकी र श्वासप्रश्वासमा समस्या देखिएको घटना भएको थियो। त्यसलाई नियन्त्रण गर्ने समाधान पत्ता लगाउनु आवश्यक छ।

विकिरण सबैभन्दा ठूलो चुनौती हो। पृथ्वीको सुरक्षात्मक चुम्बकीय घेराबाहिर अन्तरिक्षयात्रीहरू पृथ्वीको तल्लो आकाशमा भन्दा तीन गुणा बढी विकिरणसँग जुध्नुपर्छ। यसले उनीहरूमा क्यान्सर र मुटुरोगको खतरा बढ्छ।

नासाको नयाँ पुस्ताको यान ओराइअनमा विकिरण कम गर्ने सामग्री प्रयोग भएका छन्। अमेरिकाको चन्द्रमामा फर्कने योजनाको महत्वपूर्ण कोशेढुङ्गा ओराइअन यात्रु यान हो।

यसको बनोट हालैका अन्तरिक्ष यानहरूको जस्तो नभइ अपोलोसँग मेल खाने खालको छ। धेरैका लागि यसले सबै कुरा सम्भव भएको अन्तरिक्ष अन्वेक्षणको स्वर्णयुगको प्रतिनिधित्व गर्छ।

तर १० टनको यो यानले प्रयोग गरिरहेको प्रविधि सन् १९६० तिर अकल्पनीय थियो र यसलाई निर्माण गर्दाको प्रक्रिया पनि सिर्जनशील छ। नासाका लागि ओराइअन बनाइरहेको लकहेड मार्टिनमा इन्जिनियरहरूले अगमेन्टेड रियालिटी चश्मा लगाउँछन्।

“शीशाबाट तपाईँ बाहिर हेर्नुहुन्छ तर त्यहाँ बाहिर देखिएका वस्तुहरूमाथि थुप्रै डिजिटल वस्तुहरू पनि देख्नुहुन्छ,” नयाँ प्रविधि प्रमुख शेली पिटरसन भन्छिन्।

वास्तविक संसारमाथि थपिएको निर्देशनहरू हेरेर प्राविधिकहरूले कहाँ प्वाल पार्ने वा कहाँ तार बाँध्ने भन्ने जस्ता कुराहरू सजिलै थाहा पाउन सक्छन्। यसको अर्थ हजारौँ पाना भएको म्यानुअल घरीघरी हेर्नुपर्ने बाध्यता पनि हुँदैन र उनीहरू छिटो र सहज तरिकाले काम गर्न सक्छन्।

“हामीसँग ओरायनमा काम गरिरहेको एकजना हुनुहुन्छ जसको अवकाश लिने समय हुन लाग्यो तर उहाँ यसलाई पूर्णरूपमा हेर्ने चाहनामा अवकाशलाई ढिलो गर्ने इच्छा व्यक्त गरिरहनु भएको छ।”

अपोलोको तुलनामा “ओरायनको प्रति क्यूबिक फुट क्षमता निक्कै बढी छ,”लकहिड मार्टिनका इन्जिनियरिङका वरिष्ठ प्रबन्धक रब च्याम्बर्स भन्छन्। “त्यसैले त यो डिजाइन र निर्माण गर्नु कठिन छ।”

औरायन राष्ट्रपति जर्ज डब्लु बुशको चन्द्रमामा फर्कने सन् २००४ को योजनाको अंश थियो। बाराक ओबामाले सन् २०१० मा सो योजना रद्द गर्दा बाँचेको एकमात्र अंश पनि हो। ओरायनको चार कम्प्युटरहरूले मानिसको सहयोगबिना नै यसले गर्ने लगभग सबै काम गराउन सक्छन्।

ती कम्प्युटरहरू बोइङको ७८७ जेटका लागि बनाइएका जस्तै हुन् तर तिनलाई अन्तरिक्ष यात्राका लागि थप बलियो बनाइएका छन्। “अन्तरिक्षका हुनसक्ने खतराका कारण नै चारवटा कम्प्युटर राखिएका हुन्,” च्याम्बर्स भन्छन्।

ती कम्प्युटर सारै नयाँ भने होइनन्। अन्तरिक्षयात्राका लागि नयाँ र सिर्जनात्मकभन्दा पनि परीक्षणका खरो उत्रिसकेका सामग्रीहरू प्रयोग गर्नुपर्छ। ओराइअनको बाहिरी भाग पनि अन्तरिक्षका साना साना ढुङ्गाका ठक्कर सहन सक्ने खालको छ।

कुनै अवस्थामा ओराइअनको वायु कम भयो भने अन्तरिक्षयात्रीलाई वायुरहित वातावरणका बाँच्न विशेष पोशाकको व्यवस्था छ र हावा नचलाइ चिसो बनाउने व्यवस्था गरिएको छ।

ओरायन जब पृथ्वीमा फर्कने छ त्यतिबेला अन्तरिक्षयात्रीलाई पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा उत्पन्न हुने २,७६० डिग्री सेल्सियसको तापक्रमबाट बचाउन विशेष तापनाशक सामग्री प्रयोग गरिएको छ।

जब ओराइअन पृथ्वीको सतहतिर आउने छ तब ११ फरक प्रकारको प्यारासुटले यसको गतिलाई कम गराउने छ किनभने प्रशान्त महासागरमा सफलतापूर्वक उत्रन यसको गति २७ किमी प्रतिघण्टा हुनुपर्छ। नजिकै कुरिरहेको जहाजले ओराइअन र अन्तरिक्षयात्रीहरूलाई तान्ने छ र तानेर जमिनतर्फ ल्याउने छ।

ओराइअन चन्द्रमामा पनि पुग्ने योजनाको ठूलो अंश हो। अर्को ठूलो अंशचाहीँ यसलाई अन्तरिक्षमा पुर्याउने रकेट हो।त्यो रकेटलाई प्रक्षेपण गर्ने प्रणाली ३० तल्लाभन्दा अग्लो हुनेछ र १३० टनसम्मको भारलाई अन्तरिक्षमा पुर्याउन सक्छ।

“त्यो साच्चै नै विशाल रकेट हो,” बोइङको रकेट प्रक्षेपण प्रणालीका कार्यक्रम प्रबन्धक जोन स्यानन भन्छन्। यो रकेट विकास गर्न १२ अर्ब ६० करोड अमेरिकी डलर खर्च अनुमान गरिएको छ तर जुनमा जारी एक सरकारी प्रतिवेदनले त्यसमा अझै एक अर्ब ८० करोड डलर थप खर्च हुन सक्ने बताएको छ।

यो रकेटको पहिलो प्रक्षेपण सन् २०२० भन्दा अगाडि हुनेछैन। तर धेरै भने त्यत्रो खर्च गरेर रकेट बनाउनु भन्दा अर्बपति इयोन मस्क र जेफ बेजोसले विकास गरिरहेको जस्तो व्यवसायिक रकेट प्रयोग गर्नु ठिक हुने मान्छन्।

कोलोराडोमा अवस्थित पायोनियर एस्ट्रोनौटिक्सका रोबर्ट जुब्रिनले मुन डाइरेक्ट योजना अगाडि सारेका छन् जसमा चन्द्रमामा अन्तरिक्षयान पुर्याउन सस्तो पर्ने व्यवसायिक रकेट प्रयोग गर्न सकिने बताइएको छ।

यो वर्ष करिब एक अर्ब डलरको खर्चमा दुई रकेट प्रक्षेपण गरिसकेपछि जुब्रिनको भनाइमा ठूलो र खर्चालु रकेट मङ्गल ग्रहमा अन्तरिक्षयान पठाउनका लागि प्रयोग गर्न सकिन्छ।

अमेरिका किन चन्द्रमाको आकाशमा अन्तरिक्ष केन्द्र बनाउन चाहन्छ ? पचास वर्ष अगाडि त्यो नभइकन अन्तरिक्षयात्रीहरू सफलतापूर्वक अवतरण गरेको आधारमा यो सही प्रश्न भान हुन्छ।

“त्यो केन्द्र भनेको बीचको गेटवे हो जहाँबाट चन्द्रमाको सतहमा आउजाउ गर्न सकिन्छ र मङ्गलसम्म पनि प्रयास गर्न सकिन्छ,” बोइङका अन्तरिक्ष अन्वेषण विभागका पिट म्याग्राथ भन्छन्।

जोन स्यानोनलाई त्यो गेटवेको योजनाकार भन्न सकिन्छ। सन् २०११ तिर नासामा काम गर्दा उनलाई मानव अन्वेषणको आगामी कदमा बारेमा सोच्ने काम दिइएको थियो। “मैले नासाले गएको २० वर्षमा गरेको सबै प्रक्षेषणहरूको डिजाइन हेरे। त्यो प्रिन्ट गर्दा चार फिट अग्लो भएको थियो,” उनी भन्छन्।

सन् २०२४ मा चन्द्रमाको गेटवेको आधारभूत अवस्था चालु हुन सक्नेछ । स्यानोनले गर्न सकिने सोचहरूलाई जोड दिए। “चन्द्रमाको वरिवरि घुम्ने केही यात्रु बस्न मिल्ने केन्द्र बनाउनु ठिक हुन्छ जस्तो लाग्यो,” उनी भन्छन्।

“गेटवेले यात्रीहरूलाई चन्द्रमाको सतहमा ओर्लनुभन्दा पहिले तयारी गर्ने ठाँउ दिन्छ। यसले सतहमा रहेका विभिन्न वाहनहरू नियन्त्रण गर्ने मौका पनि दिन्छ।” यो केही खरावी देखिएको खण्डमा सुरक्षित स्थान पनि हुन्छ।

अपोलोले आवश्यक सबै सामग्रीहरू बोकेर गएको थियो। नासाले सो सामग्रीलाई चन्द्रमाको आकाशमा राखेको थियो जसले गर्दा चन्द्रमामा जाने बेलामा केही प्रतिकूल परिस्थिति भएको अवस्थामा अन्तरिक्षयात्रीहरूलाई भूमध्यरेखाको वरिपरिको केही सीमित ठाँउमा मात्रै अवतरण गर्न मिल्थ्यो।

गेटवे चाहीँ अर्कै स्थानमा हुनेछ जसले नासालाई त्यहाँबाट जहाँ पनि अवतरण गर्न मिल्ने व्यवस्था हुनेछ। त्यो गेटवे सन् २०२४ सम्म पूर्ण हुनेछैन। तर ओरायन त्यसको आधारभूत अंशसँग जोडिन सक्नेछ जहाँ उर्जा खण्ड र सानो यात्रु आवासीय खण्ड हुनेछ।

जोन स्यानोनका अनुसार अन्ततः गेटवे मङ्गल ग्रहमा जान आवश्यक सबै सामग्री जम्मा गर्न सकिने स्थान हुन सक्नेछ। निश्चितरूपमा त्यो यो शताब्दीलाई चिनाउने घटना थियो।

सन् १९६९ जुलाई २० मा नील आर्मस्ट्रङ र एड्विन बज एल्ड्रिल चन्द्रमाको सतहतर्फ बढिरहेका थिए। अज्ञात कारणले उनीहरूलाई बोकेको यान जहाँ अवतरण गर्नुपर्ने हो त्यहाँभन्दा चार माइल पर गइरहेको थियो।

अन्तिम २,००० फिट बाँकी रहँदा आर्मस्ट्रङले बाहिर चिहाए। उनको यान गाडी जत्रा ढुङ्गाहरू भएको खाल्डोमा अवतरण गर्न गइरहेको थियो। त्यहाँ अवतरण गर्नु ठूलो दुर्घटना हुने थियो।

यान सतहभन्दा ५०० फिटमाथि रहँदा आर्मस्ट्रङले नियन्त्रण गरेर त्यसलाई हेलिकप्टर जस्तो उडाए। उनले खाण्डो र ढुङ्गामाथि उडाउँदै यानलाई सुरक्षितरूपमा सम्म स्थानमा अवतरण गराए।

अबका अवतरण सुरक्षित र जहाँ भनेको त्यहीँ गर्न सक्ने हुनु आवश्यक छ। “त्यसका लागि अझै क्षमतावान स्वचालिन अवतरण प्रणाली चाहिन्छ,” बोस्टनका ड्र्यापर प्रयोगशालामा केन ग्राबियल भन्छन्।

“अन्तरिक्षयात्रीले आफू कहाँ छन् भन्ने थाहा पाउने मात्रै होइन्, सेन्टिमिटर फरक नपर्ने गरि स्थान अवस्थिति जान्नुका साथै त्यहाँ भएका अवरोधहरूलाई कसरी पन्छाउन सकिन्छ भनेर थाहा पाउनुपर्छ। आर्मस्ट्रङले आफ्नो आँखा, हात र दिमागले जे गरे, त्यो स्वचालितरूपमा हुने क्षमता आवश्यक हुन्छ।”

चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नु गजबको दृष्य हुनेछ। जब अन्तरिक्षयात्रीहरू बाहिर निस्कन्छन् तब उनीहरूले जेड(२ जस्तो पोशाक लगाएको हुनसक्छन् जसले उनीहरूलाई सहजता दिनेछ। उनीहरू उकालो उक्लन, ओरालो झर्न र केही टिप्न झुक्नसक्ने हुनेछन्।

चन्द्रमाबाट फर्कनु चाहीँ चुनौतीपूर्ण हुनेछ। “जब तपाईँ पृथ्वीबाट उड्नुहुन्छ तपाईँलाई उड्ने स्थान थाहा हुन्छ,” डा। सिमस टोही भन्छन्। चन्द्रमामा तपाईँ कहाँ अवतरण गर्नुभयो र तपाईँको यान कस्तो अवस्थामा छ भन्ने कुराले फरक पार्छ।

चन्द्रमामा अवतरण गर्ने र त्यहाँबाट फर्कने यान अहिलेसम्म बनेको छैन र सन् २०२४ को योजनाको सबैभन्दा चुनौती पनि हो। त्यो बनेकै छैन र सन् २०२४ अगाडि कसरी परीक्षण गरिन्छ भन्ने स्पष्ट छैन।

रोबर्ड जुब्रिन भने त्यसका लागि साढे पाँच वर्षको समयावधि भएको र त्यो यथेष्ट भएको मान्छन्। चन्द्रमासम्मको यात्रा मात्रै होइन, कतिपय त चन्द्रमा अर्थतन्त्रको लागि तयारी गरिरहेका छन्।

एस्ट्रोबोटिक नामक कम्पनीले चन्द्रमासम्मका लागि ूरेलमार्गू बनाउन थालेको बताएको छ। यो चन्द्रमाको सतहमा सामान ओसारपसार गर्न चाहने कम्पनीहरू मध्ये एक हो।

सानो सामग्रीको लागि चार सय ५० डलरदेखि ठूलो समानहरूका लागि प्रतिकिलो १२ लाख डलरसम्ममा एस्ट्रोबोटिकले चन्द्रमाको सतहसम्म सामान पुर्याउने बताएको छ। उसले चारखुट्टे रोबोट यानमार्फत त्यस्ता सामानहरू चन्द्रमामा पुर्याउने बताएको छ र उसले विज्ञान सामग्री, सगरमाथाको ढुङ्गा र अन्य कुराहरू पुर्याउन लागेको छ।

निजी ग्राहक र नासाका लागि पृथ्वीबाट चन्द्रमा सामान पठाउने सेवा प्रदान गरेर एस्ट्रोबोटिकजस्ता कम्पनीहरूले चन्द्रमाको अर्थतन्त्र दिगो बनाउने पहिलो पाइला चाल्न सक्छन्।

चन्द्रमा अर्थतन्त्रको अर्को स्रोत भनेको पर्यटन हुनसक्छ। सन् २०१८ मा इलोन मस्कको कम्पनी स्पेसएक्सले पहिलो निजी यात्रुवाहक यान सार्वजनिक गरेको थियो। सो यान सन् २०२३ ताका चन्द्रमाको वरिवरि घुमाउने योजना छ।

त्यो मिति पर सर्न सक्छ तर एकजना जापानी अर्बपतिले उनको बिग फाल्कन रकेट नाम दिइएको सो यानमा उड्नका लागि पैसा तिरिसकेका छन्।

भविष्यमा पर्यटकहरू चन्द्रमामा अवतरण गर्ने र गेटवेमा बस्न सक्छन्। सन् २०३० सम्म अन्तरिक्ष पर्यटन तीन अर्ब डलर बराबरको हुने अनुमान गरिएको छ।

तर चन्द्रमा अर्थतन्त्रको मूल जग भने रकेट इन्धनका लागि त्यहाँ पानी हिउँ उत्खनन् हुनसक्ने छ। ती दक्षिणी र उत्तरी ध्रुवमा रहेका छन्। ती ध्रुवमा रहेका ठूला खाल्डोहरूको भित्रि भागले कहिल्यै सूर्यको किरण देख्दैनन्।

पग्लन आवश्यक ताप कहिल्यै नपाएका ती अर्बै टन पानी(हिउँ त्यहीँ खाल्डोहरुमा छन्। चन्द्रमामै इन्धन हाल्ने व्यवस्था भयो भने चन्द्रमा यात्रा सस्तो हुने र त्यहाँको गेटवेको खर्च निकै कम हुनेछ।

सन् २०१८ को एक प्रतिवेदनका अनुसार चन्द्रमामा रकेटको उर्जा खण्ड बनाउन प्रतिकिलो पाँच सय डलर खर्च हुनेछ जुन पृथ्वीबाट त्यहाँ लग्नुभन्दा २० गुणा कम खर्च हो।

तर नर्थ क्यारोलिना स्टेट युनिभर्सिटिका डा। पल के बाइर्न चन्द्रमा अर्थतन्त्र विकास हुन समय लाग्ने बताउँछन्। “हामी कहाँ जान चाहन्छौँ देख्न सक्छौँ तर त्यो कुरा अलिकति मात्रै पनि सहज हुन दशकौं लाग्ने छ,” उनी भन्छन्। “त्यतिबेलासम्म सरकारहरूले नै पैसा हाल्नुपर्छ।”

अहिलेको योजना सन् २०२८मा चन्द्रमाको सतहमा लुनार सरफेस एसेट अथवा केन्द्र स्थापना भएपछि पूर्ण हुनेछ। सुरुको अवस्थामा कपडाका धेरै तहहरू भएका फुक्न मिल्ने खण्डहरू नै सबैभन्दा उत्तम समाधान हुनेछ।

ती यानमा हुँदा सानो हुनेछ। युरोपेली अन्तरिक्ष एजेन्सी र यूकेको फोस्टर ं पार्टनर्सले तयार पारेको डिजाइनमा दुई तल्ले फुक्ने खण्ड र हावा नछिर्ने गरि बनाइएको एउटा द्वार रहेको छ।

विकिरण र अन्य खाले खतराबाट बचाउन रोबोटले थ्रीडी प्रिन्ट गरेका सामग्रीहरूबाट छाना छोप्न सकिनेछ। रेगोलिथ भनिने चन्द्रमाको माटो पनि निर्माणका लागि प्रयोग गर्न सकिन्छ। “यो सहज निर्माण प्रक्रिया हो र छिटै गर्न सकिन्छ,” फिलिप मेट्जर भन्छन्।

लामो समय चन्द्रमामा बस्नका लागि भने त्यस्ता बसोबासस्थलहरू भूमिगत बनाउनु पर्नेछ। चन्द्रमामा लाभा टनेल भनिने गुफाहरू छन् जसले विकिरणबाट बचाउँछ।

युनिभर्सिटि अफ अरिजोनाले चन्द्रमामा तरकारी फलाउने प्रविधि विकास गरेको छ। पालुङ्गो, गोलभेँडा र सखरखण्डजस्ता तरकारीहरू एलईडीको उज्यालोमा उब्जाउन सकिन्छ।

पानी भने त्यहाँ पुर्नप्रशोधित र प्रयोग हुन्छ।ती बिरुवाहरूले कार्बन डाइअक्साइड सोस्ने र अक्सिजन निकाल्ने गरेर त्यस्ता बसोबासको जीवनलाई सहज बनाउँछन्। नासाले १२ वटा पाङ्ग्रा भएको ट्रक वाहन पनि विकास गरेको छ।

पानी निकाल्नुभन्दा अगाडि चाहीँ अन्वेषण गरेर त्यसको ठूलो खानी पत्ता लगाउनु पर्छ र रोबोट प्रयोग गरेर तान्नुपर्छ। मेट्जर भने चन्द्रमाको माटोलाई तताएर त्यहाँबाट निस्कने बाफ सङ्कलन गरेर पानी प्राप्न गर्न सकिने संभावना पनि रहेको बताउँछन्।

सूर्यकिरण नपुग्ने ठाँउमा उर्जाको स्रोत भने समस्या हुनसक्छ। त्यसका लागि ऐनाहरू प्रयोग गरेक किरणहरूलाई कहिल्यै नपुग्ने स्थानमा पुर्याउन सकिन्छ।

खानीबाट निकालिएका पानी भने धेरैजसो रकेट इन्धनका रूपमा प्रयोग हुनेछ। त्यसका लागि पानीलाई विद्युतीय प्रवाह प्रयोग गरेर हाइड्रोजन र अक्सिजनमा छुट्टाउनुपर्छ।

चन्द्रमा अवतरणको पचास वर्षसम्म मानवजातिले आफ्नो बुद्धि र साधनलाई सहि प्रयोग गरेर के सम्म प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ।

तत्कालिन सोभियत सङ्घ र अमेरिकाको दुश्मनी चन्द्रमा यात्राको प्रमुख कारण रह्यो। एकपटक त्यो प्रतिस्पर्धामा विजय प्राप्त गरेपछि भने अपोलो योजनाका थप छ मिसन मात्रै भए।

एक्काइसौं शताब्दीको चन्द्रमा अन्वेषण कस्तो हुनेछ भन्ने समयले बताउँला। “चन्द्रमामा जाने प्रमुख एक कारण भनेको त्यहाँबाट त्यो भन्दा अगाडि बढ्न सकिने संभावना हो,” पल के बाइर्न भन्छन्।

गएको १५ वर्षमा नासाको लक्ष्य चन्द्रमाबाट मङ्गल र फेरी चन्द्रमामा आएको छ। तर यदि डोनल्ड ट्रम्पले सन् २०२० को निर्वाचन हारे भने नयाँ डेमोक्र्याट प्रशासनले चन्द्रमाको योजना रद्द गर्नसक्छ।

किनभने यसका लागि थप पैसा चाहिन्छ। सन् २०२० को लागि ट्रम्प प्रशासनले यसका लागि थप एक अर्ब ६० करोड डलर मागेको छ।

तर नासालाई अहिलेको बजेटमा प्रतिवर्ष छदेखि आठ अर्ब थप पैसा चाहिन्छ। अमेरिकी संसद्ले यो पैसा स्वीकृत गर्नुपर्छ। चन्द्रमामा फर्कन संसद्‍‍मा दुवैतर्फको समर्थन देखिएको छ तर धेरै सांसदहरू सन् २०२५ को समयसीमामा भने शङ्का व्यक्त गर्छन्।

अमेरिकी प्रशासनले सन् २०२४ मा चन्द्रमामा जानुपर्ने एक कारणको रूपमा चीनको चन्द्रमाप्रतिको कार्यलाई देखाउँछ। कोही भने चन्द्रमाको साधनस्रोतको उपयोज जस्तो कठिन विषयमा अमेरिका, चीन र रुसजस्ता अन्तरिक्षमा पुगेका देशहरूले समन्वय गर्नुपर्ने बताउँछन्।

“मलाई लाग्छ त्यहाँ भूराजनीतिक द्वन्द्वको खतरा छ,” फिल मेट्जर भन्छन्। “यदि कुनै एक राष्ट्रले चन्द्रमामा उद्योग स्थापना गर्न सक्यो भने त्योसँग व्यापक राजनीतिक, आर्थिक र सैनिक फाइदा हुनेछ।”

तर अन्तरिक्षमा भएका साधनस्रोतलाई वेवास्ता गर्दा त्यसले फाइदा नपुग्ने बताउँदै उनी भन्छन्स् “त्यसको राम्रो उपाय भनेको त्यो कार्य सबै मानवजातिका लागि फाइदा हुने हिसाबले सहकार्य रअन्तर्राष्ट्रिय बनाउने हो।”

(बीबीसीबाट साभारः लेखक पल रिनकन, सम्पादक क्याथरिन वेस्टकोट)