धनगढीमा सिलिण्डर बम विस्फोट: एकको मृत्यु, चार घाइते, घाइतेको उपचार हुँदै

घटनाबारे प्रहरी अनुसन्धान जारी

कैलाली । हिजो साँझ धनगढीको शहिद गेट नजिकै एक होटेलमा भएको विस्फोटमा परी एकको मृत्यु भएको छ भने अन्य चार जना घाइते बन्न पुगेका छन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढीको निलम होटलमा एक्कासि विस्फोटको आवाज आएको थियो । विस्फोटमा परी त्यहाँ रहेका मानिसहरु घाइते भएको तथा एकको मृत्यु भएको हो ।

घाइतेहरुको माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ । पाँच जना घाइते भएकोमा एकको उपचारका क्रममा मृत्यु भएको हो । अन्य दुई जना घाइतेको अवस्था गम्भिर रहेको समेत खुल्न आएको छ ।

उक्त विस्फोटमा गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा बिहिबार राति ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

विस्फोटमा उक्त होटल सञ्चालक धनगढी–४, बोराडाडीका केशवराज पाण्डे, कञ्चनपुरको बलौरी–५ का लक्ष्मण सेरला, ठेगाना नखुलेका मोबिन खान र जितेन्द्र यादव लागायत घाइते भएको समेत खुल्न आएको छ ।

घटनास्थलमा एक पेस्तोल समेत फेला परेको बताइएको छ। उक्त घटना के कसरी र कस्ले गर्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको हरपल नेपालसँगको कुराकानीमा जिल्ला प्रहरी कैलालीले बताएको छ ।

प्रहरीले विस्फोट भएको वस्तु के थियो भन्नेबारेमा अझै खुल्न नसकेको बताएको छ । तर त्यहाँ सिलिण्डर बम विस्फोट भएको हुन सक्ने धेरैले आशंका गरेका छन । तर त्यो विषयमा यथार्य कुरा प्रहरी अनुसन्धानपछि मात्र आउने छ ।