विद्यार्थी हत्यामा २ जनालाई आजिवन जेल सजाय

आरोपि अन्य ५ जनाको सफाइ

सिरहा । विद्यार्थीको हत्यामा संलग्न रहेको अभियोग पुष्टि गर्दै सिरहा जिल्ला अदालतले २ जनालाई आजिवन जेल सजाय सुनाएको छ भने ५ जनालाई सफाइको फैसला सुनाएको छ ।

एसइई परीक्षापछि थप अध्ययन तयारीका लागि लहानमा डेरा गरी बसिरहेका विद्यार्थीको हत्याको अभियोगमा सिरहाको लहान नगरपालिका ३ का ४२ वर्षीय बसन्त साह र सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुसहाकी ३३ वर्षीया रञ्जुकुमारी मण्डललाई अदालतले मंगलबार आजीवन जेल सजायको फैसला सुनाएको हो ।

अदालतले उक्त मुद्दाका पाँच जनालाई सफाईसहित एक जनाको मुद्दा मुल्तवीमा राख्ने फैसला गरेको छ ।

सिरहा जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको इजलासले लहान ३ का भोलाजित सिंह, दिपक शर्मा, मो. मिस्टर राइन, नइम राइन र महेशकुमार यादवलाई सफाइको फैसला समेत सुनाएको छ ।

त्यस्तै हत्यामा संलग्न रहेका रामानन्द गुप्ता फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको अदालतले जनाएको छ । घटनाका दोषिहरुलाई कानुन अनुसार कारबाही हुने बताइएको छ ।