मालपोत कार्यालयको राजश्व सम्वन्धी कारोवार बैक मार्फत गरिने

बाँके । भूमि सुधार तथा मालपोत कार्यालय बाँकेमा विगतमा संकलन हुने राजश्व जोखिम मोलेर तीन किलोमिटर टाढाको राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्ने बाध्यता हटेको छ अब भने सम्पूर्ण राजश्व सम्बन्धी नगद कारोबार बुधवार देखि बैंक मार्फत गर्न शुरु गरिएको छ ।

मालपोत कार्यालय नजिकै रहेको नेपाल बैंक लिमिटेड मार्फत मालपोत कार्यालयबाट हुने राजश्व सम्बन्धी नगद कारोबार तथा राजश्व संकलनको सम्पूर्ण कारोबार शुरु गरिएको बैंकका इस्टेन्शन काउण्टर इञ्चार्ज राजेश श्रीवास्तवले बताए ।

नेपाल बैंक लिमिटेड नेपालगञ्ज शाखामा बुधवार गरिएको कार्यक्रममा मालपोत कार्यालय बाँकेका प्रमुख प्रेम दौल्यालले कार्यालयमा भई रहेको काम भन्दा सेवाग्राहीले अझ बढि सहज तरिकाले सेवा सुविधा पाउन भन्ने उद्देश्यले बैंकसँग सहकार्य गरिएको बताए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल,नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्देशक मुक्तिनाथ सापकोटा, आन्तरिक राजश्व कार्यालयका प्रमुख प्रकाश पौडेल,कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख रामचन्द्र शर्मा, प्रहरी उपरीक्षक वीर बहादुर वली, म.व क्याम्पसका प्राध्यापक अर्जुन पोख्रेल, लगायतले सहज सेवा प्रवाहमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल बैङ्क लिमिटेडका प्रदेश प्रमुख पासाङ दोर्जे शेर्पा र सिटी अफिस नेपालगञ्जका शाखा प्रबन्धक जनक प्रसाद सुवेदीले आम नागरिकले सहज तरिकाले सेवा पाउने गरि काम शुरु गरिने बिश्वास दिलाए ।