युवा सशक्तिकरण बुलमारी परियोजनाको अर्धबार्षिक समिक्षा सम्पन्न

शिक्षा तथा जिवोकोपार्जनमा बिशेष जोड

बाँके । नेपालगञ्जमा सञ्चालित युवा सशक्तिकरण बुलमारी परियोजनाको अर्धबार्षिक समिक्षा गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको समन्वय तथा सेभ द चिल्ड्रनको आर्थिक सहयोगमा सामाजिक बिकास मंच (एसडिएफ) बाँकेद्धारा संचालित युवा सशक्तिकरण बुलमारी परियोजनाको सोमबार नेपालगञ्जमा अर्ध बार्षिक गरिएको हो ।

कार्यक्रमले समुदायमा खाली बसेका युवाहरुलाई स्वरोजगार बनाएको छ । सीप, क्षमता बृद्धि गरेर व्यवसाय तथा रोजगार शुरु गरेका युवाहरुले नमूना कार्य गरेका उदाहरणहरु समेत देखाइएका छन ।

त्यस्तै परियोजना अन्तर्गत नेपालगञ्जका ७ वटा बिद्यालयमा संचालन गरिएको कार्यक्रमले बिपन्न तथा पछाडी परेका बालबालिकाहरुलाई बिद्यालयसम्म ल्याएइको छ ।

आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई नगदै रकम समेत प्रदान गरेर उनीहरुको नियमिततालाई जोड दिइएको समिक्षामा देखिएको छ ।

५ बर्षसम्म चल्ने कार्यक्रम युवा तथा बालवालिकाहरुलाई लक्षित गरि उनीहरुको क्षमता तथा रोजगार सृजना गर्ने उद्देश्यका साथ नगरको २३ वटै वडामा परियोजना संचालित छ ।

शिक्षा र जिविकोपार्जनलाई बिशेष जोड दिएर परियोजना संचालन गरिएको एसडिएफले जनाएको छ । ७१ लाख ७९ हजार बजेट रहेको परियोजनाको ५० प्रतिशत रकम खर्च भैसकेको समिक्षाले देखाएको छ ।

परियोजनाले किराना पसल, सिलाईकटाई, व्युटिपार्लर, चाटपसल, हेयर कटिङ्ग तालिम प्रदान गरि उनीहरुलाई सामाग्री समेत प्रदान गरि स्वरोजगार बनाउने कार्य गरिएको परियोजना संयोजक राम श्रेष्ठले जानकारी दिए ।

नगरका ३४ जनालाई किराना पसलको सामाग्री प्रदान गरेको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष रुपा गहतराज, गैर सरकारी संघ महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, साहित्यकार हरि तिमिल्सेना, सेफ द चिल्ड्रेनकी कार्यक्रम अधिकृत फुल कुमारी चोधरी लगायतले परियोजनाबाट पुगेको सहयोग र अझै रहेका कमी कमजोरीलाई अगामी दिनमा कसरी जाने भन्ने बारेमा सल्लाह सुझावसमेत प्रस्तुत गरेका थिए ।