वर्षाका कारण देशभर मृत्यु हुनेको सङ्ख्या ६०, घाइतेको सख्या ३८

कम्तीमा १० हजार परिवार विस्थापित

काठमाडौं । अविरल वर्षाका कारण नेपालका विभिन्न स्थानमा ज्यान गुमाउनेहरूको सङ्ख्या ६० नाघेको नेपाल प्रहरीले जनाएको छ।

सोमवार बिहान ७ बजेसम्म देशका विभिन्न ठाउँमा गरी ६५ जनाको ज्यान गएको र ३८ जना घाइते भएको नेपाल प्रहरीका सहप्रवक्ता रमेश थापाले जनाएका छन्।

मृत्यु हुनेमध्ये ४१ जना पुरुष र २४ जना महिला रहेको प्रहरीद्वारा प्राप्त विवरणमा उल्लेख छ। सबैभन्दा बढी ललितपुर, भोजपुर र रौतहटमा पाँच पाँच जना गरी १५ जनाको ज्यान गएको छ।

सिन्धुली, सिरहा, ओखलढुङ्गा र मकवानपुरमा चार चार गरी १६ जनाको ज्यान गएको छ। काभ्रे, धनुषा, खोटाङ र काठमाडौंमा तीन तीन जना गरी १२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

त्यसैगरी बारा, पर्सा, झापा, उदयपुर, महोत्तरी, धादिङ र डोल्पामा दुई दुई गरी १४ जनाको मृत्यु भएको छ ।

देशका विभिन्न ठाउँमा अविरल वर्षाले ल्याएको बाढी तथा पहिरोका कारण अझै ३० जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार प्रभावित क्षेत्रमा २५ सयभन्दा बढी मानिसको उद्धार गरिएको छ।

खासगरी तराईका जिल्लामा कतिपय गाउँ नै डुबानमा परेकोले विस्थापितहरूको यकिन विवरण आउन बाँकी रहेको नेपाल प्रहरीका सहप्रवक्ता थापाले बताए।

सरकारले भने बाढी र पहिरोका कारण कम्तीमा पनि १० हजार परिवार विस्थापित भएको जनाएको छ। बाढी तथा पहिरोका कारण देशका विभिन्न ठाउँमा बाटो अवरुद्ध भएको छ, ति यस प्रकार छन ।

  • भट्टेडाँडा, आग्राङ टुङगुन जाने शान्ति लोकपथको हेटौँडा जाने सडकखण्ड
  • इन्द्रसरोवर गाउँपालिका २ र ३ स्थित सिस्नेरी फर्पिङ जाने सडकखण्ड
  • जनकपुरबाट जलेश्वर जाने सडकखण्ड
  • फिकल गाउँपालिका ६ बहादुरे खोला, सोलु खोला र खाङखाङ खोलामा पहिरो गई मध्यपहाडी लोकमार्ग
  • मानेभज्याङ गाउपालिका ७ सिद्धिचरण राजमार्ग
  • गगने खोलामा पहिरो खसेर सुर्खेत कालिकोट(जुम्ला जोड्ने कर्णाली राजमार्ग
  • भोजपुर नगरपालिका १० स्थित गजुरमुखी भीरमा पहिरो खसरे भोजपुर, धनकुटा सडकखण्ड
  • नासो गाउँपालिका १ म्यादीखोलामा पानीको बहाव बढी बेँसीसहर मनाङ सडक
  • मुस्ताङ थासाङ गाउँपालिका ४ घोप्टेभिरमा कालीगण्डकी नदीको पानीको बहाव बढी बेनी जोमसोङ जाने सडक

प्रहरीका अनुसार कुलेखानी जलविद्युत्‌ आयोजनाको सरोवर भरिएकाले बाँध खोलेर नियन्त्रित निकास गर्नुपर्ने भएको छ। केही घण्टापछि त्यसलाई खोल्न सुरु गरिने प्रहरीले जनाएको छ।

मनसुन न्यून चापीय रेखा तराई भूभागमा अवस्थित छ र त्यसका कारण मनसुनी गतिविधि देशभरि सक्रिय अवस्थामा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशको मध्य तथा पूर्वी भूभागमा सामान्यदेखि पूर्णतया बदली छ भने पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली छ।

महाशाखाका नायब मौसम विज्ञान सहायक अमरकृष्ण वासीका अनुसार सोमवार दिउँसो देशभरि सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा वर्षा हुने सम्भावना छ।

देशको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा र पश्चिमका एक वा दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको उनले बताए। बीबीसीबाट