गाउपालिका अध्यक्ष शाहद्वारा यादवलाई आँखा उपचारको लागि आर्थिक सहयोग

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सम्पूर्ण उपचार खर्च ब्यहोरे पछि मटेहियाका पवनकुमार यादवको आँखाको शल्यक्रिया गरिएको छ ।

आर्थिक अभावका कारण बायाँ आँखाको ज्योति गुमाउने अवस्थामा पुगिसकेका नरैनापुर गाउँपालिका वडा नम्बर ५ मटेहिया महादेव नगरका यादवको आँखाको शल्यक्रिया गर्न अध्यक्ष शाहले सबै खर्च व्यहोरेका हुन् ।

महेन्द्र मावि मटेहियामा कक्षा ९ मा अध्ययनरत यादवको आँखामा दुई बर्षअघि लागेको चोटका कारण दुई महिना देखि उनले बायाँ आँखाले देख्न छोडेका थिए । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि अध्यक्ष शाहले यादवलाई नेपालगञ्जस्थित भिजन आँखा अस्पतालमा उपचार गराएका थिए ।

अस्पतालका आँखा विशेषज्ञ प्रचण्ड गौतमको सल्लाहपछि यावदलाई भैरहवा स्थित श्री रण अम्बिका शाह आँखा अस्पतालमा लगिएको यादवका बुवा राम नरेश यादवले बताए । अध्यक्ष शाहको सहयोगले आफ्नो छोरा आँखाको ज्योति गुमाउने अवस्थाबाट जोगिएको भन्दै राम नरेशले खुशी व्यक्त गरे । राम नरेशका अनुसार पवनको उपचारका क्रममा लागेको ५० हजार रुपैयाँ अध्यक्ष शाहले ब्यहोरेका थिए ।