राप्ती नदीमा पानीको खतरा भन्दा माथि

सतर्क रहन प्रशासनको स्थानियलाई आग्रह

बाँके । पहाडी क्षेत्रमा भएको लगातारको वर्षाले बाँकेको राप्ती नदीको पानीको सतह ‘डेन्जरजोन’ मा पुगेको छ ।

राप्ती नदीमा जलस्तर बढेपछि बाँके प्रशासनले नदी आसपासका बासिन्दालाई सजग गराएको छ । राप्ती नदीमा पानीको सतह खतरा भन्दा माथि पुगेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सजग गराएको हो ।

राप्ती नदीमा पानीको सतह तीब्र गतिमा लगातार बढि रहेको बाढी मापन केन्द्रले जनाएको छ । शनिवार बेलुका ६ बजेसम्म कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिटर ९३ सेन्टिमिटर पुगेको बाढी मापन केन्द्रले जनाएको छ ।

कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिटर पुगे खतराको मानिन्छ भने ५.४० मिटर पुगे चेतावनी दिने गरिएको छ ।

चेतावनीको स्तरमा पानीको सतह पुगेमा राप्ती नदी आसपासका झण्डै एक सय गाउँ डुवानमा पर्ने गर्दछन् ।

कुसुममा आएको बाढी डुडुवा गाउँपालिका–१, होलिया पुग्न चार घण्टा लाग्ने गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।

यसैबीच बाढीको सम्भावनालाई दृष्टिगत गर्दै पूर्वतयारी गरिएको भुजेलले बताए । उनले उद्धार सामग्री,नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको बताए ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख गौरी बुढाथोकीले बाढीबाट धन, जनको क्षति हुन नदिन पूर्वतयारी गरिएको जानकारी दिए । बाढी आएको सूचना पाएको पाँच मिनेटमा उद्धार टोली घटनास्थल तर्फ जाने गरि व्यवस्था मिलाइएको केन्द्रका प्रमृुखको भनार्ई थियो ।