काठमाडौं आउँदै गरेको ट्रक त्रिशुलीमा खस्योः उद्धार कार्य जारी, घाइतेको उपचार हुँदै

बाढीका कारण ट्रक निकाल्न समस्या

चितवन । विहिबारदेखि निरन्तर आएको बर्षातका कारण बाढी पहिरो र सडकमा पानी जमेका कारण यातायात प्रभावित बनेको खबर आइरहेको बेला पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामनामा गएराति एउटा ट्रक त्रिशुलीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लाको भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक गए राति १ः३० बजेको समयमा इच्छाकामना गाउँपालिका–५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खसेको हो।

प्रहरीका अनुसार उक्त ट्रकमा चालक र सहचालक गरी दुई जना मात्र सवार रहेका थिए । ट्रक दुर्घटना भएको खबर पाएपछि त्यहाँ पुगेको प्रहरी टोलीले चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगरको तत्काल उद्धार गरेको थियो ।

हरपल नेपाल डटकमसँग कुराकानी गर्दै चितवन प्रहरीका एसपि दानबहादुर मल्लले भने–‘चालकको उद्धार राति नै गरिएको हो । चालक घाइते अवस्थामा रहेकाले उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।’

एसपि मल्लका अनुसार ट्रकका सहचालक राति फेला नपरेपछि उनको खोजि कार्य भैरहेकोमा आज बिहान नदिबाट उनको उद्धार गरिएको छ ।

ट्रकका सहचालक दाङ घोराहीका २५ वर्षीय अनिल गुरुङ रहेको खुल्न आएको छ । अहिले प्रहरीले ट्रक निकाल्न सहयोग गरेको भएपनि पानीको बहाव बढेकाले त्यो सम्भव नभएको बताएको छ ।

दुर्घटना भएको ट्रक अहिले नदिमै रहेको छ । उक्त ट्रकमा भैरहवाबाट दाना लोड गरिएको बताइएको छ । प्रहरीले बर्षात र बाढीको घटनाबारे सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्यस्तै एसपि मल्लले चितवनको पूर्वि क्षेत्र (सौरहा) तर्फ पानीले केही भूभाग डुबानमा पारेको भएपनि अन्य क्षेत्रमा भने खासै जोखिम नभएको बताएका छन ।

उद्धारका लागि सुरक्षा निकायले आफ्नो सबै श्रोत खटाएको उनले बताए । उनले चितवनमा कुनै अप्रिय घटना नभएको समेत बताएका छन । फाईल तस्बिर