प्रहरी इन्स्पेक्टर नै मुछिए नक्कली कागजपत्र बनाउँने धन्दामा…

संलग्न सातविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौं । दुर्घटनामा संलग्न वास्तविक चालकलाई जोगाउन नक्कली चालक खडा गरेको आरोपमा इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीसहित सातजनाविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार प्रहरी र तीन सर्वसाधरणविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दा दर्ता हुनेमा इन्स्पेक्टर जिसीसहित अपराध अनुसन्धान शाखाका प्रहरी नायब निरीक्षक दामोदर भट्टराई, प्रहरी सहायक निरीक्षक देवबहादुर थापा र सडक दुर्घटना प्रतिवेदन तयार पार्ने प्रहरी हवल्दार बलबहादुर वली छन् ।

यस्तै, दुर्घटनामा संलग्न वास्तविक चालक बोधराज पाण्डे, नक्कली चालक किसुना महतो र मतियार बनेका शालिकराम पाण्डेविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ ।

गत ११ वैशाखमा पाण्डेले चलाएको बा २०च ११७९ नम्बरको जिपले ना २८ प ४६८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नन्दकली शर्माको मृत्यु भएको थियो भने अर्का गम्भीर घाइते भएका थिए ।

दुर्घटना लगत्तै जिपका चालक पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीसँगको मिलेमतोमा किसुना महतोलाई अर्को दिन प्रहरी कार्यालयमा बोलाएर दुर्घटनाको वेला उनले चलाएको कागज बनाएर मुद्दा दायर गरिएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।