चितवनमा क्रान्तिकारी माओवादीद्धारा नेता अधिकारीको स्मृतिमा शोकसभाको आयोजना

योगदान र भूमिकाबारे चर्चा हुने

चितवन । चितवनमा भोलि नेकपा (क्रान्तिकारी माओवादी) ले हालै निधन हुनपुगेका पार्टीका नेता श्रीनाथ अधिकारी ‘श्याम’ को स्मृतिमा शोकसभाको आयोजना गरेको छ ।

नेता अधिकारीको क्यानसरको उपचारका क्रममा ललितपुर हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा यहि असार २२ गते निधन भएको थियो ।

नेता अधिकारीको निधन भएको सातौं दिनको अवसरमा क्रान्तिकारी माओवादीले उहाँको स्मृतिमा शोकसभा गर्न लागेको उक्त पार्टीका केन्द्रीय सदस्य समेत रहेका मृतकका छोरा नारायण अधिकारी ‘निश्चल’ ले हरपल नेपालसँग बताएका छन ।

नेता निश्चलका अनुसार उक्त शोकसभाको प्रमुख अतिथिको रुपमा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल ‘गौरव’ आउने कार्यक्रम तय भएको छ ।

त्यसैगरी उक्त कार्यक्रममा पार्टीको प्रदेश नम्बर तीनका सेक्रेटरी तथा पोलिटव्यूरो सदस्य दिनेश शर्मा सागर, अन्य पोलिटव्यूरो सदस्यहरुमा चन्द्रहरी सुवेदी अटल, अम्बिका मुडभारी, अशोक लम्साल लगायत केन्द्रीय सदस्यहरु, जिल्लाका नेता, कार्यकर्ता तथा अन्य शुभेच्छुकहरुको समेत उपस्थिति हुने बुझिएको ।

उक्त कार्यक्रममा नेता अधिकारीले सामाजिक व्यवस्था परिवर्तनको आन्दोलनमा खेलेको भूमिका र क्रान्तिको पक्षमा गरेको योगदानको चर्चा गरिने बुझिएको छ ।

हरपलसँग कुरा गर्दै क्रान्तिकारी माओवादीका नेता निश्चलले कार्यक्रममा नेता, कार्यकर्ता र सबै आफन्तजन तथा सुभेच्छुकहरुलाई आमन्त्रणा समेत गरेका छन ।

उक्त कार्यक्रम नेता अधिकारीको चितवन महानगरपालिका १४, पृथ्वीनगर बरौजी स्थित निजि निवासमा हुने भएको छ । कार्यक्रममा सहभागि हुन आउनेहरुको सहजताका लागि 9856040708, 9846332306 लगायतका मोबाईल नम्बरमा सम्पर्क गर्न सकिने छ ।

लामो समयदेखि सामाजिक व्यवस्था परिवर्तनको आन्दोलनमा लागेका अघिल्लो पुस्ताका कम्युनिस्ट नेता अधिकारी पछिल्लो समय क्रान्तिकारी माओवादीको पोलिटव्यूरो सदस्यको जिम्मेवारीमा रहेका थिए । उनलाई गोर्खा कम्युनिस्ट आन्दोलनको संस्थापक नेताको रुपमा लिइन्छ ।

उनको निधनपछि श्रद्धाञ्जलीका लागि तत्कालिन माओवादीका सबै अगुवा नेता, कार्यकर्ताहरुदेखि अन्य कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता, सरकारका मन्त्रकी, पूर्व मन्त्री, वरिष्ठ महानुभाव तथा सुभेच्छुक, सुभचिन्तकहरुको बाँक्लो उपस्थिति रहेको थियो ।