प्रभावकारी सेवा वितरणबारे एनआईसी एशिया बैंक र विराटनगर अस्पतालबीच सम्झौता

विभिन्न स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुचारु

विराटनगर । विराटनगर अस्पताल प्रा.लि.र एनआईसी एशिया बैंक लिमिटेडबीच ग्राहकहरुमा सर्वसुलभ तथा प्रभावकारी सेवा वितरण सम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ । मुनालपथ, विराटनगरमा अवस्थित उक्त अस्पताल र बैंकबीच हिजो त्यस्तो सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार अब बैंकका कर्मचारीलाई विराटनगर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको छुट पाइने भएको छ ।

त्यसका साथै बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।

प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले हिजो एक विज्ञप्ति जारी गर्दै उक्त सम्झौताका विषयमा जानकारी दिएका हुन ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं एक अन्तर्गत विराटनगर उपप्रादेशिक कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्य र विराटनगर अस्पतालको तर्फबाट अस्पतालका निर्देशक डा. सुशील तपरियाले हस्ताक्षर गरेका छन ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८६ शाखा कार्यालयहरु, ३०० एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४० वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको उक्त बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।