नेता हत्याको विरोध गर्दै विप्लव नेकपाले भन्यो–‘सरकार मुलुकमा भिड्न्त गर्न खोज्दैंछ’ (विज्ञप्तिसहित)

‘नेकपाको आक्रमण गर्ने नीति छैन’

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गत बुधबार भोजपुरमा प्रहरीद्धारा आफ्नो पार्टीका नेताको हत्या गरिएको भन्दै विरोध जनाएको छ ।

विप्लव नेकपाका सगरमाथा व्युरो इन्चार्ज अधिकारले हिजो एक विज्ञप्ति जारी गर्दै सरकारले देशलाई जबर्जस्त रुपमा भिडन्ततिर लिन खोजेको आरोप लगाउँदै घटनाको विरोध गरेको हो।

त्यहाँ प्रहरीको टोली र विप्लव समूहबीच जम्काभेट हुँदा गोली चलेको बताइएको छ । उक्त घटनाबाट एक जना विप्लवका नेता र एकजना सादा पोशाकका प्रहरी गरी दुई जनाको मृत्यु भएको थियो ।

उक्त घटनामा आफ्नो पार्टीले गोली नचलाएको र अहिले प्रहरीमाथि आक्रमण गर्ने नीति पार्टीले नलिएको विज्ञप्ति मार्फत उनले बताएका छन ।

अधिकारले जारी गरेको विज्ञप्तिमा पार्टीका नेता तिर्थ घिमिरेको हत्याको कारणबाटै प्रहरी संजिव राईको मृत्यु भएको बताएका छन ।

उनले तिर्थको हत्या गर्ने प्रहरीको टोलीसँग भएको जम्काका क्रममा पार्टीका नेता निरकुमार राई ‘प्रशान्त’ मृत्यु भएको विज्ञप्तिमा खुलाएका छन ।

उनले आक्रमण नगर्ने नीतिलाई सरकारले दुरुपयोग गरेर युद्ध चाहेको भन्दै त्यसको विरोध समेत गरेका छन । बाँकी विज्ञप्तिको पूर्णपाठ यस्तो छ…

नेपाल कम्युनिस्ट पार्टी
सगरमाथा व्युरो

विषयः प्रेस विज्ञप्ति

यतिबेला सामाजिक फासिवादी जन हत्यारो केपी–पिके सरकार एकपछि अर्को गर्दै नागरिक हत्यामा उत्रिएको छ । भोजपुरका कमरेड तिर्थराज घिमिरेलाई गत जेठ ७ गते भोजपुर टेम्के मयुम गाउँपालिका वार्ड नं। २ दलसिंगेस्थित बाटो हिडिरहेका बेला गिरफ्तार गरी चरम यातना दिई हत्या गर्ने मध्यका मुख्य हत्यारो प्रहरी संजिव राई र उनको टोलीसँग असार २५ गते हाम्रो पार्टी सगरमाथा ब्युरो सदस्य एवंम् ओखलढुङ्गा जिल्ला समितिका सेक्रेटरी कमरेड निरकुमार राई ‘प्रशान्त’ भोजपुर सदरमुकाममा रहेका आफ्नो परिवारसँग भेटघाट सकेर फर्कने क्रममा जम्काभेट हुँदा कमरेड तिर्थराजका हत्यारा प्रहरी संजिव राइको प्रतिरोध गर्ने क्रममा पार्टीका होनहार कमरेड प्रशान्तको शाहदत भएको छ ।

षडानन्द नगरपालिका वार्ड नं. १३ गोया घर भई ओखलढुङ्गामा कार्यरत हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी सगरमाथा ब्युरो सदस्य एवंम् ओखलढुङ्गा जिल्ला समितिका सेक्रेटरी नीरकुमार राई ‘प्रशान्त’ एक इमान्दार, जुझारु, जनप्रिय र क्रान्तिप्रति बफादार नेता हुनुहुन्थ्यो । उहाको शाहदतले हाम्रो पार्टीलाई अपुरणिय क्षति पुगेको छ । उहाको बलिदानले दलाल पुँजीवादी सत्ताको अवशानलाई अझ नजिक बनाउने काम गरेको छ भने वैज्ञानिक समाजवादी सत्ता स्थापनाको निम्ति सिङ्गो आन्दोलनलाई थप प्रतिबद्ध बनाएको छ । हाम्रो पार्टी उहाँप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

यस स्थितिमा हाम्रो पार्टी उंहाको परिवारजन, पार्टी पंक्तिका सम्पूर्ण कमरेडहरुलाई शोकलाई शक्तिमा बदल्न र बदलाभावकासाथ मैदानमा खट्न आग्रह गर्दछ । देश र जनताको निम्ति निरन्तर संघर्षमा डटिरहनु भएका कमरेड प्रशान्तलाई महान् सहिद घोषणा गर्दै उंहाँको सपना खेर जान नदिने प्रण गर्दछौं ।
मितिः २०७६/३/२५

…………….
अधिकार
(सगरमाथा व्युरो इन्चार्ज)