बन उपभोक्ताका पदाधिकारीहरुलाई अनुशिक्षण

बाँके । डुडुवा गाउँपालिका क्षेत्रमा रहेका सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुलाई सुशासन र लेखा व्यवस्थापनका बारेमा अनुशिक्षण दिइएको छ ।

गाउँपालिकाको सहयोगमा अवधी पत्रकार संघ नेपालले आयोजना गरेको अनुशिक्षणमा १० वटा सामुदायिक बनका करीब ४० जनाको सहभागिता रहेको थियो ।

दुईदिने अनुशिक्षणमा फेकोफनका डिल्ली रावत, महेन्द्र शाही, सूचना अभियन्ता विश्वजित तिवारीले सामुदायिक बनमा सुशसान तथा आर्थिक लेखा व्यवस्थापन लगायतका विषयमा सहजीकरण गरेका थिए ।

अनुशिक्षणको बिहीवार समापन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले गाउँपालिकामा रहेका सामुदायिक बनहरुलाई व्यवस्थित गर्न विशेष कार्यक्रमका साथै बनका पदाधिकारीहरुसंग परामर्श लिई बन उपभोक्त हितका कार्यक्रम ल्याइने बताए ।

अध्यक्ष चौधरीले सामुदायिक वन समुहलाई पर्यटन क्षेत्रसंग जोडेर उपभोक्ता आयआर्जनका कार्यक्रमलाई विशेष प्राथमिकता दिने जानकारी दिए ।

संघका अध्यक्ष राकेश कुमार मिश्रको अध्यक्षतामा भएको समापन कार्यक्रममा फेकोफन गाउँपालिकास्तरीय संजालका अध्यक्ष बेल बहादुर बोहरा, जिल्ला सदस्य डिल्ली रावत, फेकोफन प्रदेश नं. ५ का सदस्य महेन्द्र शाही लगायतले धारणा राखेका थिए ।

पछिल्लो समयमा सामुदायिक बन समुहमा आर्थिक अनियमितताका साथै लेखा व्यवस्थापनमा समस्या भएपछि यस्तो कार्यक्रम आयोजना गरिएको हो ।