‘ग्रेटर नेपाल’ भारतीय डिजाइनमा सञ्चालित आत्मघाती कदम: ‘माइनर इन्डिया’ निर्माण अभियान

असामयिक र अवस्तुवादी माग

काठमाडौं । सुगौलि सन्धिको कारण देखाउँदै पूर्वमा मेचिदेखि टिस्टासम्म र पश्चिममा महाकालीदेखि काङ्गडासम्म फैलिएको वृहत नेपालको सीमाना फिर्ता गरी ग्रेटर नेपाल निर्माणको अभियान भारतको आन्तरिक योजनाबाट परिचालित भएको एक सामाजिक अगुवाले तर्क गरेका छन ।

सामाजिक व्यवस्था परिवर्तनको मुद्धालाई केन्द्रमा राखेर लामो समयदेखि कलम चलाउँदै आएका सामाजिक अगुवा बलराम तिमिल्सैनाले ग्रेटर नेपाल निर्माण अभियानको अन्तरवस्तुबारे केलाउँदै विभिन्न तर्कका आधारमा त्यसलाई भारतीय डिजाइन भनेका हुन ।

उनले ग्रेटर नेपालको नाममा राष्ट्रियताको कुरा गर्नेहरुले नेपाललाई माइनर इन्डिया बनाउने भारतीय आन्तरिक योजना अनुसार काम गरिरहेको आरोप समेत लगाएका छन । उनले सीमानाको कुरा गरेर ग्रेटर नेपाल निर्माण वा राष्ट्रियताको रक्षा केही नहुने बरु त्यसले मुलुकलाई भातीयकरण गराउने तर्क अघि सारेका छन ।

उनले ग्रेटर नेपालका अभियन्ताप्रति लक्षित गर्दै प्रश्न गरेका छन–‘चालीस लाख भारतीयले नेपाली नागरिता लिएकोले जनमत संग्रह गरेर नेपाललाई भारतमा मिसाउँने षडयन्त्र हुन सक्छ भनेर उफ्रने ग्रेटर नेपालीका अभियन्ताहरूलाई टिस्टा काङ्गडा मिसाउँदा कति करोड भारतीयहरू मिसिन्छन र त्यसपछि जनमत संग्रहको माग उठ्यो भने के हुन्छ भन्ने हेक्का छैन ?’

उनले अगाडि भनेका छन–‘ग्रेटर नेपाल भन्ने कुरा लागू भयो भने नेपालको अस्तित्व सकिन्छ र केही महिनामै त्यो काल्पनिक देश सिक्किमजस्तै भारतमा विलय हुन्छ। त्यसैले ग्रेटर नेपालको नारा मेरो बिचारमा भारतबाटै जन्मिएको हेर्दा चिटिक्कको, गोर्खाली रगतमा रक्सीजस्तै झ्याप्पै लाग्ने तर हामीलाई ढलमा सुताउँने आत्मघाती नारा हो।’

उनले ग्रेटर नेपालको अभियानलाई असामयिक र अवस्तुवादीको संज्ञा दिदैं भारत परिचालित खतरनाक राष्ट्रिघाती योजना भनेका छन । उनले त्यसलाई निम्न प्रकारले विभिन्न आठ बुँदामा तर्क सहित प्रस्तुत गरेका छन ।

  • पहिलो तर्कः ग्रेटर नेपालको माग असामयिक , अवस्तुवादी र आत्मरति मात्र हो ।
  • दोश्रो तर्कः अहिले टिष्टा काङ्गडा सहितको जुन ग्रेटर नेपालको चर्चा गरिएको छ , त्यो लामो र ऐतिहासिक रुपमा अस्तित्वमा रहेको स्थिर मानव समुदायको कुनै देश होइन। वरु पृथ्वी नारायणको राज्य विस्तारको समय कुनै एक समयमा जित्दै पुगेका साँध सिमानाको कुरा हो।
  • तेश्रो तर्कः यो माग महाकालीदेखि काङ्गडासम्म र मेचीदेखि टिस्टासम्मका मानिसहरूले गरेको माग होइन। यो माग उठाउँनेहरूले कुमाउ गढवालका या पूर्वका मानिसहरूसँग कुनै सरोकार राखेको देखिदैन।
  • चौथो तर्कः लामो ऐतिहासिक कालबाट स्थिर रुपमा रहेको देशलाई कुनै विदेशीले आएर आक्रमण गरेर खण्डित भएको देश होइन नेपाल। वरु आजको आकारमा या यो भन्दा ठूलो आकारमा नेपाल भन्ने देश नै थिएन। कुनै खास कालमा कुनै राज्य ठूलो हुने र खुम्चिने क्रम त थियो तर त्यो क्रमले आजको जस्तो स्थिरता पाईसकेको थिएन। गोरखा एउटा अलग्गै राज्य थियो र ऊ जस्तै अलग्गै र सार्वभौमसत्ता सम्पन्न र अझ उन्नत अरु राज्यहरू पनि थिए।नेपाल भनेको यथार्थमा काठमाण्डौ उपत्यका थियो। गोरखाले नेपाल कव्जा गरेको थियो र लामो समय यो देशलाई गोरखा नै भनिन्थ्यो । गोरखा भाषा प्रकाशिनी समिति, गोरखा पत्र त्यसका उदाहरण हुन।गोरखापत्र अझै नेपाल पत्र भैसकेको छैन।विदेशमा अझै नेपाली र गोर्खाली दुवै पहिचान चल्छ।
  • पाँचौं तर्कः कुरा महाकाली पश्चिम र मेची पूर्वका मानिस तथाकथित ग्रेटर नेपालमा बस्न चाहदैनन्। किन कि उनीहरू बसेको देशभन्दा नेपालमा थप कुनै सुविधा छैन वरु दुख छ।
  • छैठौं तर्कः कुनै कागताली परेर हालको नेपालको सीमाना टिष्टा र काङ्गडा पुग्यो भने त्यो ग्रेटर नेपाल हुदैन बरु माइनर इन्डिया हुन्छ।
  • सातौं तर्कः चालीस लाख भारतीयले नेपाली नागरिता लिएकोले जनमत संग्रह गरेर नेपाललाई भारतमा मिसाउँने षडयन्त्र हुन सक्छ भनेर उफ्रने ग्रेटर नेपालीका अभियन्ताूहरूलाई टिस्टा काङ्गडा मिसाउँदा कति करोड भारतीयहरू मिसिन्छन र त्यसपछि जनमत संग्रहको माग उठ्यो भने के हुन्छ भन्ने हेक्का छैन।
  • आठौं तर्कः ग्रेटर नेपाल भन्ने कुरा लागू भयो भने नेपालको अस्तित्व सकिन्छ र केही महिनामै त्यो काल्पनिक देश सिक्किमजस्तै भारतमा विलय हुन्छ।त्यसैले ग्रेटर नेपालको नारा मेरो बिचारमा भारतबाटै जन्मिएको हेर्दा चिटिक्कको, गोर्खाली रगतमा रक्सीजस्तै झ्याप्पै लाग्ने तर हामीलाई ढलमा सुताउँने आत्मघाती नारा हो।

पुनश्चः ग्रेटर नेपालको माग गर्नेहरूले दक्षिणको गंगासम्मको मैदानको माग किन गरिरहेका छैनन् रु किन कि त्यता पहाडेहरू बस्दैनन्। ग्रेटर नेपाल वालाले पहाडै पहाड भएको भूभाग र पहाडी जनसंख्या थप्ने कुरा सोचेका छन।

मैदान, मधेश र मधेशी पहाडेहरूको नजरमा असली नेपाल होइन। यो सोच गोर्खाली राज्य विस्तारको अतृप्त तीर्खाको नयाँ संस्करण हो। यो अभियानमा एउटा पनि मधेशी, थारु या मुश्लिम छैन।यो अभियानमा झुक्किएर बाहेक एउटा पनि जनजाती छैन।

यो माग न मधेशको हो , न जनजातीको हो र न केन्द्रबाट उपेक्षित सुदुर पश्चिमका पहाडीहरूको नै हो। यो माग त यथार्थमा मध्य र पूर्वी पहाडका पनि बाहुन क्षेत्रीहरूको हो । जसको दिमाग गोर्खाली चरित्रले बनेको छ, तिनीहरूको हो। फाईल तस्बिर 

(यो तर्क सहितको लेख बलराम तिमिल्सैनाले लेखेका हुन । हामीले उनको लेखलाई समाचारका रुपमा प्रस्तुत गरेका हौं।)