होटलका कर्मचारीद्वारा पत्रकार माथि हातपात

कुटपीट गर्ने युवाहरुमाथि कडा कार्यवाहीको माग

बाँके । नेपालगञ्जमा क्रियाशिल तीन जना पत्रकारलाई नेपालगञ्जको बाटिका होटलमा दुव्र्यवहार सहित हातपात गरिएको छ ।

एभिन्यूज टेलिभिजनका ब्यूरो प्रमुख दुर्गा रोकाय, पत्रकार जागेश्वर चौधरी र भिम पौडेललाई बुधवार दिउँसो होटल परिसरमा कुटपिट गरिएको हो ।

होटलका कर्मचारीले कुटपिट गर्नेक्रममा एभिन्यूज टेलिभिजनको क्यामेरा र पत्रकारहरुको मोवाईलसमेत क्षतिग्रस्त भएको छ ।

केही समयपहिले होटल बाटिकाबाट भारतीय सेनामा भर्ना गराई दिने भन्दै युवासँग रकम लिएको समूह ३५ लाख रुपैयाँ सहित पक्राउ परेका थिए । सोही समाचारको पिटिसी लिने क्रममा होटल बाहिर होटलका कर्मचारीहरुले फुटेज डिलिट गर भन्दै पत्रकारहरुलाई कुटपिट गर्दै क्यामरा खोसेका थिए ।

उनीहरुले पत्रकार रोकायलाई कुटपिट गर्दै नियन्त्रणमा समेत राखेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले पत्रकारहरुलाई कुटपिट गर्ने होटलका कर्मचारी भुवनबहादुर खड्कासहित दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।

यसैबीच बाँकेका पत्रकारहरुले एसपी वलीलाई भेटेर पत्रकारलाई कुटपिट गर्नेमाथि कडा कारवाहीको माग गरेका छन् ।