बर्षाका कारण महानगरपालिका भित्रका वडा नं.१० डुवानमा

झारपातले नाला भरिदा बस्तीमा डुवानको समस्या ः स्थानीय

बाँके । गत आइतवार देखी निरन्तर रुपमा भई रहेको बर्षाका कारणले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित औद्योगिक क्षेत्र तथा जनस्वास्थ्य कार्यालय पछाडीको बस्ती मंगलवार डुबानमा परेको छ ।

भेरी प्राविधिक शिक्षालय र बेलासपुर हुदै बग्ने नालामा पानी बग्न नपाउँदा डुबान समस्या बल्झिएको हो ।

दुबै नालाको मिलन विन्दुमा नालाभरी झारपात उम्रिएर निकास थुनिएको छ । नेपालगञ्जमा सोमवार राती भिषण बर्षा भएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाले एकिकृत शहरी विकास आयोजनामार्फत एशियाली विकास बैंकको ऋण र अनुदान सहयोगमा दुई वर्षअघि निर्माण गरेको उक्त नालामा सहज रुपमा पानी बग्न नपाउँदा डुबान भएको स्थानीय बासिन्दा शंकर ठकुरीले बताए ।

थुनिएको नालाको निकास खोल्न उपमहानगरपालिका कार्यालयमा फोन गरेर एक्साभेटर पठाईदिन आग्रह गर्दा पनि जनप्रतिनिधीले पछि पठाउँला भनेर बेवास्ता गरेको स्थानीयहरुले गुनासो गरेका छन ।

बस्ती पुरै जलमग्न भएपछि आवत जावतमा कठिनाई हुने गरेको छ । अबिरल वर्षाले नेपालगन्जको विभिन्न भाग जलाम्य भएको छ । अधिकांश स्थानमा नालाको निकास नहुँदा डुबान समस्या निम्तिएको स्थानीयले बताएका छन् ।

नगर प्रमुख डा. धवल शम्शेर राणा बर्षा हुँदा नालामा पानी एकैचोटी बग्न नसक्दा पानी जम्ने र वर्षा रोकिए पछि एकैछिनमा सुक्ने गरेकाले डुबान समस्या धेरै समय नटिक्ने बताए ।

सोमबार राती परेको बर्षाले नेपालगञ्जका विभिन्न ठाउँमा पानीको निकास थुनिदाँ समस्या आएको उनले सुनाए ।

२०६३ सालयता निम्तिन थालेको डुबान समस्या समाधान गर्ने भन्दै एशियाली विकास बैंकको ऋण र अनुदान सहयोगमा सुरुमा एकिकृत शहरी विकास आयोजना तथा क्षेत्रीय शहरी विकास आयोजना सञ्चालनमा आएको छ ।

उक्त आयोजनाले सडक, नाला र फोहोरमैला ब्यवस्थापनका नाममा झण्डै ५ अर्ब खर्च गरि सकेको छ । अर्बौ बजेट खर्च भई सक्दा पनि नेपालगन्जबासीले डुबान समस्याबाट मुक्ति पाउन सकेका छैनन् ।