“ग्रीन खजुरा”पाइलट प्रोजेक्टकालागि खजुरा अध्यक्ष एवं यूएन प्रमुखबीच सम्झौता

सन २०२० देखी प्रोेजेक्टको काम अगाडी बढाइने

बाँके । खजुरा गाउँपालिका र चाइना इन्स्टिच्यूट फर साउथ को–अपरेशन इन एग्रिकल्चर बीच मंगलवार उज्वेकिस्तानमा ‘ग्रीन खजुरा’ पाइलट प्रोजेक्टका लागि सम्झौता भएको छ ।

उज्वेकिस्तानमा सञ्चालन भइ रहेको ग्रीन एकोनोमी कार्यक्रममा सहभागी खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले ‘हरित कृषि र हरित शहरीकरण’का लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

अध्यक्ष कक्षपति र युएन प्रमुखबीच विभिन्न देशका प्रतिनिधिको रोहवरमा सम्झौतामा हस्ताक्षर भएको हो ।

खजुरामा पाईलट प्रोजेक्टका रुपमा उक्त कार्यक्रम शुरु भए पनि हरित कृषि र हरित शहर निर्माणका लागि सन् २०२० देखि प्रोजेक्ट अगाडि बढ्नेछ ।

गाउँपालिका प्रमुख कक्षपतिले प्रोजेक्टको लागत यसको मोडालिटीलगायतका विषयमा पनि छलफल गरेर टुङ्गो लगाइने बताउदै अध्यक्ष कक्षपतिले हरित खजुरा बनाउने अभियानका लागि ठूलो सफलता हात लागेको बताउँदै यसलाई अगाडि बढाइने उल्लेख गरे ।

गत वर्ष दुबईमा आयोजित एक कार्यक्रममा सहभागी भएका खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले खजुरा गाउँपालिकालाई ग्रीन सिटीका रुपमा विकास गर्न गरेको प्रस्तुतीकरण पछि यो कार्यक्रम अगाडि बढेको थियो ।

ग्रीन खजुराका लागि भएको सम्झौता पछि खजुराबासीमा खुशीयाली छाएको छ । खजुरा गाउँपालिका उपप्रमुख एकमाया विकले खजुराको दीगो विकासमा यसले टेवा पुग्ने बताइन् ।

खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीले सम्झौताको हृृदय देखि स्वागत गर्दै यसलाई कार्यान्वयनको दिशामा लैजान आतुर भएको बताए ।

यो प्रोजेक्ट भित्र्याउनकालागि खजुरा गाउँपालिका विज्ञ समूह सदस्य पूर्णचन्द्र उपाध्याय, प्राविधिक प्रमुख कञ्चन तिवारी, आइटी अफिसर सुरेश शाहु, रोजगार प्रमुख महेन्द्र रेग्मी आन्तरिक सहयोगीको रुपमा थिए ।

कृषि तथा हरित खजुराका लागि भएको सम्झौता पछि प्रतिक्रिया दिँदै विज्ञ सदस्य पूर्णचन्द्र उपाध्यायले खजुराबासीका लागि मात्र नभई देशकै लागि नमूना र उदाहरणीय काम भएको भन्दै कृषिमा दीगो विकासका लागि नमूना हुने बताए ।

प्राविधिक प्रमुख कञ्चन तिवारीले हरित कृषि र हरित शहरीकरण प्रोजेक्ट लागू भएपछि खजुरा संसार भरीकै रिसर्च सेन्टरका रुपमा विकास हुनुका साथै कृषिका विषयमा अनुभव साटासाट, खजुरा कृषि क्याम्पसको सपना पूरा हुने धारणा राखे ।

आइटी अफिसर सुरेश शाहुले यसका अन्तरबस्तु तथा कार्यक्रमहरु वेभसाइट मार्फत राखिने भएकाले संसारले हेर्न सक्ने बताए । रोजगार प्रमुख महेन्द्र रेग्मीले भने –यो अत्यन्तै खुशीको कुरा हो हामीले गरेको मेहनतको परिणाम प्राप्त भएको छ । खजुरा ग्रीन सिटी तथा कृषिको दीगो विकासकालागि यसअघि युएन तथा चाइनाको टीम खजुरा गाउँपालिका आई अध्ययन अवलोकन गरेर फर्केको थियो ।