गोर्खा कम्युनिस्ट आन्दोलनका हस्ती श्रीनाथ अधिकारीको निधनः आज दिउँस पशुपतिमा दाहसंस्कार गरिने

अन्तिम बिदाईको क्षणः कुपण्डोलमा श्रद्धाञ्जली कार्यक्रम

काठमाडौं । त्याग, इमान र निष्ठाको राजनीतिमा जस्तो परिस्थितिमा समेत जोशिलो रुपमा उभिने, गोर्खा कम्युनिस्ट आन्दोलनका हस्ति, अग्रज कम्युनिस्ट नेता श्रीनाथ अधिकारी ‘श्याम दाई’ को उपचारका क्रममा हिजो साँझ ८ः०२ बजे निधन भएको खबरसँगै धेरै मानिसहरुलाई स्तब्ध बनाएको छ ।

निष्ठावान नेता श्यामदाईको निधनको खबरसँगै प्रत्यक्ष भेटेर वा सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली अर्पण गर्ने देखि शोकाकुल परिवारजनमा समवेदना दिइएका पोष्ठहरुले फेसबुकका वालहरु भरिएका छन भने म्यासेन्जर, इमो, भाइबर लगाएतका अन्य सञ्जालमा समेत निरन्तर त्यस्तै म्यासेजहरु आउने जाने गरेका छन ।

बुबाको उपाचारमा खटिएका उनका छोरा छोरा नारायण अधिकारीका अनुसार विगत ८ महिनादेखि फोक्सोको क्यान्सरको उपचार भैरहेको थियो । भरतपुर चितवनबाट केही महिनाअघि मात्र उनको थप उपचारको लागि ललितपुरको हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पतालमा ल्याइएको थियो ।

डाक्टरलाई उद्घृत गर्दै परिवार श्रोतले यसअघि हरपलसँगको भेटमा उनको फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको र शरीरको कम्मरमुनिको भागसम्म फैलिएको र त्यसले पक्षघात भएको थियो । लामो समयको उपचारपछि उनको हिजो निधन भएको हो ।

अजिरकोट गाउँपालिका–३ गोर्खामा विसंं २०१२ सालमा जन्मिएका अधिकारी विसंं २०३२ देखि कम्युनिष्ट आन्दोलन भित्रको क्रान्तिकारी धारामा निरन्तर जोडिदै माक्सवादको विकास र प्रयोगका क्षेत्रमा योगदान पुर्याउँदै आएको देखिन्छ ।

उनी गोरखा जिल्लाको कम्युनिस्ट आन्दोलनको संस्थापक नेताको रुपमा समेत परिचित छन । उनी मालेमावादी दर्शनको क्षेत्रमा उहाँको विशेष दख्खल राख्ने, विचार र जीवन व्यवहार दुबैलाई आत्मसाथ गर्ने इमानदार नेताको सूचिमा अग्रपक्तिमा पर्दछन ।

उनको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका अस्पतालबाट कुपण्डोल पुर्याइएको छ । उनी हाल मोहन बैद्य किरणले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादीमा पोलिटव्यूरो सदस्यको जिम्मेवारीमा रहदै आएका थिए ।

नेता अधिकारीका एक श्रीमती, तीन भाइ छोरा र दुई वहिनी छोरी रहेका छन् । जेठो छोरा नारायण अधिकारी ‘निश्चल’ पनि राजनीतिमा सक्रिय रहँदै आएका छन भने अन्य परिवारजनहरु समेत विभिन्न सामाजिक काममा संलग्न रहेका छन ।

अहिले क्रान्तिकारी माओवादीको कुपण्डोल स्थित पार्टी कार्यालयमा उनको पार्थिव शरीरलाई नेता, कार्यकर्ता, सुभेच्छुक, सुभचिन्तकहरुको अन्तिम श्रद्धाञ्जलीको लागि राखिएको छ । करिब १२ बजेसम्म श्रद्धाञ्जलीका लागि शव त्यहाँ राखिने बताइएको छ । त्यस्तै आज दिउँस नै उनको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्तेष्टि समेत गरिने भएको छ ।

यतिबेला कुपण्डोलमा विभिन्न कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताहरुका साथै उनका आफन्तजन र सुभेछुकहरुको जमघट भएको छ । उनलाई श्रद्धाञ्जली दिनका लागि नेताहरु त्यहाँ पुगेका छन ।