दलित बस्तीका लाखौ नागरिक अझै नागरिकता विहीन अवस्थामा

दलित समुदाय विभेदमा

सिरहा । प्रदेश न-२ का अधिकाशं जिल्लाहरुका दलित बस्तीका नागरिकहरू नागरिकता विहीन रहेका छन् । उनीहरुसँग आफ्नो जग्गा छैन,  प्रशासन भन्छ-जग्गा पूर्जा नभएपछि नागरिकता बनाउन सकिंदैन ।

सप्तरीको तिलाठी कोइलाडी, महोत्तरीको भरतपुर, धनुषाको रामपुर, सिरहा, सर्लाही, बारा र रौतहटका दलित बस्ती तथा समुदायहरुले राज्यकै कारण नागरिकता बनाउन सकेका छैनन् ।

नागरिकता नभएका कारण ऊनीहरुले छोराछोरीको पनि जन्मदर्ता गराउन नपाएको पीडा सुनाए । आवश्यक कागजातको अभावका कारणले त्यो समूदायका बालबालिकाहरू विद्यालय जानबाट समेत बञ्चित बनेका छन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार मुसहर समुदायको सङ्ख्या झन्डै ३ लाख छ । तर, प्रदेश २ सरकारको तथ्याङ्क अनुसार झन्डै ८ लाखको हाराहारीमा मुसहर समुदायको जनसङ्ख्या रहेको छ ।

ती मध्ये झन्डै ८५ प्रतिशत नागरिकहरूसँग अझै पनि नागरिकता छैन । सदियौंदेखि बसोबास गर्दै आएका उनीहरुले नागरिकता नपाउनुको प्रमुख कारण गरिबी र अशिक्षा रहेको छ ।

दलित समुदायको क्षेत्रमा काम गर्दै आएका स्थानिय अगुवा राजकुमार महतोले मधेशमा दलित समुदायमाथि गरिने विभेदका कारणले उनीहरु नागरिकता बनाउनबाट बञ्चित भइरहेको बताए ।

नागरिकता बनाउन जाँदा जिल्ला प्रशासन कार्यालयमा उनीहरुलाई हप्काएर फर्काइने गरेको उनको भनाई छ ।

सम्झाउनुको सट्टा रिसाउदा उनीहरुको मनोबल कमजोर हुने र नागरिकता बनाउन उनीहरु फेरि कार्यालय नजाने अवस्था देखिएको उनि बताउछन् ।