सिन्जियाङमा मुस्लिम बालबालिकालाई अभिभावकदेखि अलग्याउने प्रयासः यसरी बन्दैछ विद्यालय माध्यम

कडा निगरानीमा बालबालिकाहरू

चीन । एउटा नयाँ अनुसन्धान अनुसार चीनले पश्चिमी क्षेत्र सिन्जियाङमा जानाजान मुस्लिम बालबालिकालाई उनीहरूका परिवार, आस्था र भाषादेखि अलग पारिरहेको छ।

सयौँ हजार वयस्कलाई विशाल शिविरहरूमा राखिँदैछ, तीव्र गतिमा र ठूलो स्तरमा बोर्डिङ स्कूलहरूको निर्माण कार्य जारी छ ।

सार्वजनिक रूपमा उपलब्ध दस्तावेजहरू र विदेशमा रहेका परिवारका सदस्यसँगको दर्जनौँ अन्तर्वार्ताबाट सो क्षेत्रमा बालबालिकालाई के गरिँदैछ भन्ने विषयमा केही प्रमाणहरू सङ्कलन भएका छन् ।

एउटा नगरमा मात्रै चार सयभन्दा बढी बालबालिकाले एउटा मात्रै नभई आफ्ना दुइटै अभिभावकलाई गुमाएको तथ्यले देखाएको छ, उनीहरू कैदीको स्वरूपमा शिविर अथवा जेलमा राखिएका छन्।

ती बालबालिकालाई केन्द्रीकृत रूपमा हेरचार चाहिए वा नचाहिएकोबारे औपचारिक लेखाजोखाहरू गरिएका छन्।सिन्जियाङका वयस्कहरूको पहिचान रुपान्तरण गर्ने प्रयासहरूसँगै समानान्तर रूपमा बालबालिकालाई उनीहरूका अभिभावकदेखि अलग्याउने विधिवत प्रयासहरू गरिएको प्रमाणले देखाएको छ।

सिन्जियाङ, जहाँ विदेशी पत्रकारलाई चौबीसै घण्टा पछ्याइन्छ, मा चीनको कडा निगरानी र नियन्त्रणले प्रमाणहरू सङ्कलन गर्न असम्भव तुल्याउँछ। तर टर्कीमा प्रमाण भेटिन्छन्।

इस्तानबुलस्थित एउटा ठूलो हलमा आफ्ना कथा सुनाउन दर्जनौँ मानिस लाम लागेका छन्, उनीहरूमध्ये धेरैले आफ्ना बालबच्चाको तस्वीर बोकिरहेका छन् जो सिन्जियाङबाट हराएका छन्।

आफ्ना तीनजना छोरीका तस्वीर देखाउँदै एक आमाले भनिन्, मलाई थाहा छैन उनीहरूको हेरचार कसले गरिरहेको छ। कुनै सम्पर्क नै हुन सकेको छैन।

तीन छोरा र एक छोरीको तस्वीर समाइरहेकी अर्की आमाले आँसु पुछ्दै भनिन्, उनीहरूलाई अनाथालय लगिएको भन्ने मैले सुनेकी छु।

तनावमा र दुःखका साथ बयान दिइएको ६० वटा छुट्टाछुट्टै अन्तर्वार्तामा बालबालिकाका आमाबुवा र अरू आफन्तले सिन्जियाङमा एक सयभन्दा बढी बालबालिका बेपत्ता भएकाबारे बताएका छन्।

उनीहरू सबै उइगर हुन्, सिन्जियाङकै सबैभन्दा ठूलो आदिवासी मुस्लिम समुदायका सदस्य, जसको भाषा र आस्था टर्कीसँग जोडिन्छ।

अध्ययन अथवा व्यापार गर्न, परिवारलाई भेट्न अथवा बच्चा जन्माउन पाउने चिनियाँ सीमा र धर्मविरुद्धको बढ्दो दमनबाट जोगिन हजारौँ उइगर टर्की पुगेका छन्।

तर चीनले तीन वर्षयता सयौँ हजार उइगर र अरू अल्पसङ्ख्यकलाई शिविरहरूमा कैद गर्न थालेपछि उनीहरूले आफूलाई टर्कीमा फसेको पाएका छन्।

चिनियाँ अधिकारीहरू भन्छन्, धार्मिक अतिवादसँग जुझ्नका निम्ति उइगरहरूलाई प्राविधिक प्रशिक्षण केन्द्रहरूमा शिक्षा दिइँदैछ।

तर आस्था जाहेर गरेकै कारण ( प्रार्थना गरेकोमा अथवा महिलाले निकाब लगाएकोमा वा टर्कीजस्तै अन्यत्र सम्पर्क स्थापित गरेकोमा उनीहरूलाई कैद गरिएको प्रमाणहरूबाट देखिन्छ।

यी उइगरहरूका लागि घर फर्कनु भनेको त कैदमा पर्नुजस्तै हुन्छ। फोन सम्पर्क पनि टुटाइएको छ, सिन्जियाङमा भएकाहरूलाई त विदेशमा रहेका आफन्तसँग कुरा गर्नु पनि निकै खतरनाक हुन्छ।

सिन्जियाङमा कैदमा परेकी श्रीमतीका एक श्रीमान्‌लाई आफ्ना आठ बच्चामध्ये केही सरकारी हेरचारमा रहेको आशङ्का छ। उनले भने, मलाई लाग्छ उनीहरूलाई बाल शिक्षा शिविरहरूमा राखिएको होला।

नयाँ अनुसन्धानले ती बच्चा र अन्य हजारौँ बालबालिकालाई के गरिँदैछ भन्नेबारे प्रकाश पारेको छ। सिन्जियाङमा वयस्क मुस्लिमहरूलाई सामूहिक रूपमा कैदमा राख्ने गरेको घटनाबारे ठूलो स्तरमा जानकारी बाहिर ल्याउने श्रेय जर्मन अनुसन्धानकर्ता एड्रिआन जेन्जलाई दिइन्छ।

सार्वजनिक रूपमा उपलब्ध दस्तावेजहरूमा आधारित उनको रिपोर्टले सिन्जियाङमा अनपेक्षित रूपमा विद्यालयहरू विस्तार गर्ने कार्यबारे एउटा तस्वीर दिन्छ।

क्याम्पसहरू ठूला पारिएका छन्, नयाँ हल निर्माण गरिएका छन् र मान्छे अट्ने क्षमता ठूलो स्तरमा बढाइएको छ ।

कैदी शिविरहरूको निर्माण गर्दै गर्दा राज्यले ठूलो सङ्ख्यामा बालबालिकालाई पूर्णकालीन हेरचार गर्न सक्ने क्षमता बढाइरहेको छ।

त्यो स्पष्ट रूपमा तिनै आदिवासी समूहका लागि लक्षित देखिन्छ। सन् २०१७ मा मात्रै सिन्जियाङमा किन्डरगार्टेनमा भर्ना हुने बच्चाहरूको सङ्ख्या पाँच लाखभन्दा बढीले वृद्धि भएको छ।

सरकारी तथ्याङ्क अनुसार त्यसमध्ये ९० प्रतिशतभन्दा बढी सङ्ख्या उइगर र अरू मुस्लिम अल्पसङ्ख्यक बच्चाका छन् ।

फलस्वरूप सिन्जियाङमा प्रि(स्कूल भर्ना हुनेको सङ्ख्या राष्ट्रिय औसत दरभन्दा तल रहेकोमा अहिले बढेर उच्च विन्दुमा पुगेको छ।

उइगर जनसङ्ख्याबारे बढी ध्यान दिइएको सिन्जियाङको दक्षिणी क्षेत्रमा मात्रै किन्डरगार्टेनको निर्माण र स्तरोन्नतिमा सरकारले १.२ अर्ब डलर खर्चिँदैछ। त्यसअन्तर्गत ठूलो सङ्ख्यामा हलहरूको निर्माण कार्य पनि समावेश गरिएको जेन्जको विश्लेषण छ।

गत वर्षको एप्रिलमा काउन्टी अधिकारीहरूले वरपरका गाउँका दुई हजार बालबालिकालाई एउटा ठूलो बोर्डिङ स्कूलमा सारे।

बीबीसीसँग कुरा गर्दै सिन्जियाङको प्रचार विभागका एक उच्च अधिकारीले भने, यदि कुनै परिवारका सबैलाई प्राविधिक प्रशिक्षण शिविरमा पठाइएको छ भने त्यो परिवार गम्भीर समस्यामा हुनुपर्छ। हाँस्दै ती अधिकारीले थपे, मैले चाहिँ यस्तो देखेको छैन।

अल्पसङ्ख्यक बालबालिकालाई राम्रो जीवनशैलीको बानी र घरमा सिक्न सक्नेभन्दा अझ राम्ररी सरसफाइका कुरा सिक्न अवसर दिएको बोर्डिङ स्कूलहरूको तर्क छ।

सरकारी नीतिहरूबारे बुझ्न हामीले सिन्जियाङस्थित कैयौँ स्थानीय शिक्षा ब्यूरोहरूलाई फोन गर्यौँ। अधिकांश बोलेनन्, तर केहीले प्रणालीबारे केही कुरा बताए।

हामीले शिविरमा राखिएका अभिभावकका बच्चाहरूलाई के हुन्छ भनेर एकजना अधिकारीलाई सोध्यौँ। उनले भनिन्, उनीहरू बोर्डिङ स्कूलमा छन्।

हामीले उनीहरूलाई बस्ने, खाने र लगाउने लुगाको व्यवस्था गरेका छौँ र उनीहरूको राम्ररी हेरचार गर्न हामीलाई भनिएको छ।

तर इस्तानबुलमा रहेकी एक आमा भन्छिन्, हजारौँ निर्दोष बालबालिकालाई उनीहरूका अभिभावकबाट अलग्याइँदैछ र हामीले निरन्तर बयान दिइरहेका छौँ। उनले प्रश्न गरिन्, यी तथ्यहरू थाहा पाउँदा समेत विश्व किन चुप छ ?

अनुसन्धानले देखाए अनुसार सिन्जियाङमा बालबालिकाहरू चाहिँ कडा निगरानीमा आफूहरूलाई राखेको आफूलाई पाउँछन्।

अधिकांश विद्यालयहरू पूर्ण निगरानीमा रहेको, अलार्महरू भएको र विद्यालय परिसर १० हजार भोल्ट भएको बिजुलीको तारले घेरिएको अवस्थामा छन्। कैदमा लिने क्रम नाटकीय रूपमा बढेपछि सन् २०१७ मा उक्त नीति जारी गरिएको थियो।

जेन्ज भन्छन्, आमाबुवा र उनीहरूका छोराछोरीलाई विधिवत ढङ्गले अलग राख्ने कार्यले नयाँ पुस्तालाई उनीहरूको मूल, धार्मिक आस्था र भाषाबाट अलग्याएर हुर्काउने सिन्जियाङ सरकारको प्रयत्न देखिएको प्रस्ट हुन्छ।

उनी थप्छन्, मलाई लाग्छ प्रमाणहरूले सांस्कृतिक संहार गर्न लागिएको देखाउँछन्। बीबीसीबाट