सिरहा नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै विरोध प्रदर्शन

नगरवासीसँग अतिरिक्त कर बन्द गर्न माग

सिरहा । नेपाली काँग्रेसको सिरहा नगर समितिले हिजो सिरहा नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै त्यसको विरोधमा जिल्ला सदरमुकाममा वृहत प्रदर्शन गरेको छ ।

मुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई नगरपालिकामा भइरहेको अनियमितता विरुद्ध ज्ञापनपत्र समेत कांग्रेसले बुझाएको बताइएको छ ।

काँग्रेसका नेता तथा कार्यकर्ताहरुले सिरहा बजारमा प्रदर्शन गर्दै नगरपालिकाको कार्यालयमा पुगेका थिए ।

उनीहरुले मेयर अशेश्वरप्रसाद यादव, उपमेयर डा. नमिता यादव र प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई सबै अनुउपस्थित देखिएको हुनाले अधिकृत सुबोध लामालाई ज्ञापनपत्र बुझाएको बताएका छन।

नगरपालिकाभित्र गठन गरिएका उपभोक्ता समितिहरु सार्वजनिक गर्नुपर्ने, नागरिकता सिफारिस जस्ता व्यक्तिगत सिफारिस निःशुल्क गर्नुपर्ने, नियमित सूचना प्रवाहको लागि सूचना शाखा र सूचना अधिकारीको व्यवस्था, नगरवासीमाथि अतिरिक्त कर लगाउने कार्य बन्द गर्नुपर्ने लगायतका माग उनीहरुले अघि सारेका छन ।