रुपान्तरणका लागि सकारात्मक सोचका आवश्यक: अध्यक्ष कक्षपति

कमजोरी सच्याएर जानु पर्नेमा जोड

बाँके । खजुरा गाँउपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले विरोधकालागि विरोध होइन सकारात्मक सोंचका साथ सामाजिक रुपान्तरणमा लाग्नु पर्ने बताए ।

खजुरामा स्वास्थ्य क्षेत्रमा सामाजिक जवाफदेहिता परियोजना अन्तर्गत अध्ययनका परिणाम तथा सिफारिस सार्वजनिकीकरण गोष्ठीमा बोल्दै उनले सामाजिक जवाफदेहिताका लागि आफुले आफैलाई मूल्यांकन गर्नु पर्ने बताए ।

उनले खजुरामा जनप्रतिनिधि निर्वाचित भएपछि स्वास्थ्य क्षेत्रको अवस्थामा सुधार आएको बताउँदै अब स्वास्थ्यसंग आवद्धहरुको ३/३ महिनामा बैठक राखेर उपलब्धी, समस्या, कार्यसम्पादन लगायतका कुराको समीक्षा गरिने उल्लेख गरे ।

जनप्रतिनिधि र कर्मचारीले आफ्नो दायित्व बोध गरेमा सामाजिक जवाफदेहितामा टेवा पुग्ने बताउँदै अध्यक्ष कक्षपतिले सकारात्मक सोंचका साथ लाग्न आग्रह गरे ।

कार्यक्रममा उपप्रमुख एकमाया विकले सामाजिक जवाफदेहिताका औजारको प्रयोग गरेर सेवा प्रवाह गरिने बताइन् ।

खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीले सेवा प्रदायक र सेवाग्राही बीच दूरी कम गर्न भए गरेका कमजोरी सच्याएर जानु पर्नेमा जोड दिए ।

खजुरा गाउँपालिकाको संयोजन, यू के आइडी, डिएफआइडीको सहयोग र प्याक्ट र साहसको सहजीकरणमा भएको कार्यक्रममा प्याक्टका दुर्लभकुमार बोगटीले सेवा सुधारका लागि सेवा प्रदायक, सेवाग्राही र नागरिकका प्रतिनिधिवीच सहभागिता मुलक अन्तरक्रिया हुनु पर्नेमा जोड दिँदै राजनीतिक जवाफदेहिता र प्रशासकीय जवाफदेहिता हुनु पर्ने उल्लेख गरे ।

बासका मन भण्डारीले खजुरा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुमा गरिएको अध्ययन, अनुगमन,सर्वेक्षण तथा स्थिति विशेषलणबाट ४ बजेसम्म स्वास्थ्य संस्था खुल्ने पाइएको, नागरिक वडापत्रमा संसोधन गर्नु पर्ने अवस्था रहेको,केही स्वास्थ्यकर्मीको व्यवहारमा सुधार गर्नु पर्ने, खोप केन्द्र थप र गाउँघर स्वास्थ्य क्लिनिक स्थापना गर्नु पर्ने मागहरु आएको बताए ।