ग्रामिण क्षेत्रमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा एनआईसी एशिया बैंकको जोड

स्थानीयबासीलाई सहजताः लामो दूरी हिंड्नुपर्ने अवस्थाको अन्त्य

तनहुँ । शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत ग्राहकहरुलाई प्रभावकारी बैंकिङ्ग सुविधा उपलब्ध गाराउने उद्देश्यले एनआईसी एशिया बैंकले गाउँ–गाउँमा शाखारहित बैंकिङ्ग सेवा विस्तारमा जोड दिएको छ ।

एनआईसी एशिया बैंकले पछिल्लो पटक ग्रामीण क्षेत्रमा समेत वित्तीय पहुँच विस्तार गर्न तथा वित्तीय सबलीकरणको अवस्था ल्याउन शाखारहित बैंकिङ्ग सेवा प्रणालीमा जोड दिदैँ गएको हो ।

ग्रामीण क्षेत्रमा सेवा पुर्याउने योजना अनुसार एनआईसी एशिया बैंकले तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. १ अन्तर्गत सत्रसय भन्ने स्थानमा आफ्नो ३७ औंं शाखारहित बैंकिङ्ग सेवा यहि असार १३ गतेबाट संचालनमा ल्याएको छ ।

बैंकले संचालनमा ल्याएको उक्त शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन आँबुखैरेनी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष किसान थापाले गरेका थिए । उक्त शाखारहित बैंकिङ सेवाका लागि त्यहाँ प्रतिनिधिको रुपमा सुशिला गुरुङ्गलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंक शाखारहित बैंकिङ्ग सेवा विस्तारमा रहेको भन्दै हिजो बैंकका प्रमुख सूचना अधिकृत अर्जुन राज खनियाले एक विज्ञप्ति मार्फत जानकारी गराएका छन । उनका अनुसार देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् उक्त बैंंकको बैंकिङ्ग सेवा लिन सक्ने भन्दछन् ।

शाखारहित बैंकिङ्ग सेवाले सबै खाले बैंकिङ्ग कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विस्तार हुने विश्वास बैंकले लिएको छ ।

त्यस्तो सेवाबाट स्थानीयबासीले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिने बताइएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८५ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बताइएको छ ।

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको उक्त बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई उक्त बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा/शाखारहित बैंकिङ्ग सेवा संचालन गर्ने योजना अगाडि सारेको जनाएको छ ।