हङकङमा दशौँ हजार बेइजिङ समर्थकहरुद्धारा प्रदर्शनः प्रहरीसँग झडप

अझै प्रदर्शनकारीहरू सडकमैः अर्को र्याली निस्कने संकेत

हङकङ । चीनलाई हङकङ हस्तान्तरण गरिएको २२ औं वर्षगाँठ मनाइँदै गर्दा हङकङमा प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरू र प्रहरीबीच झडप भएको छ।

हङकङकी प्रमुख कार्यकारी क्यारी लाम झण्डोत्तोलन समारोहमा सहभागी भइरहँदा उक्त क्षेत्रमा दङ्गा प्रहरी परिचालन गरिएको छ।

उनीहरूले प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयास स्वरूप पीपर स्प्रे अर्थात् आँखा पिरो पार्ने रसायन प्रयोग गरेका छन्। यसअघि हङकङमा दशौँ हजार बेइजिङ समर्थक प्रदर्शनकारीहरू पनि प्रहरीको समर्थनमा र्यालीमा उत्रेका छन्।

सेतो र नीलो रङ्गका लुगा लगाएका प्रदर्शनकारीहरूले चिनियाँ झण्डा बोकेका थिए। त्यहाँ एक महिनायता सुपुर्दगी सम्बन्धी एउटा विधेयकको विरोधमा प्रदर्शनकारीहरूले शहरमा प्रदर्शन गरेका छन्।

संदिग्धहरूलाई अभियोजनका लागि मुख्यभूमि चीन पठाउने सकिने प्रस्तावित व्यवस्थाको विरोधमा त्यहाँ अहिलेसम्मकै दुई ठूला र्यालीहरू आयोजना भएका थिए।

१२ जुलाईमा प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गर्दै भिडलाई तितरबितर पार्दा त्यहाँ थुप्रै दशकपछि हिंसक प्रदर्शनहरू भएका थिए।

हङकङकी न्यायमन्त्री टेरेजा चेङ्गले प्रहरी दमनमाथि अनुसन्धान हुने कुरालाई अस्वीकार गरेकी छन्। यद्यपि प्रदर्शनकारीहरूले सरकारलाई माफी माग्न र प्रस्तावित विधेयक निलम्बन गर्न बाध्य पारेका थिए।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आइतवार झण्डै एक लाख पैँसठ्ठी हजार बेइजिङ समर्थक प्रदर्शनकारीहरू तमार पार्कमा भेला भएका थिए।

तर विधेयकका विरूद्धमा उभिएका भन्दा ती निकै कम मानिसहरू हुन्। अभियानकर्मी समूहहरूले आफ्नो पछिल्लो र्यालीमा बीस लाख मानिसहरू सहभागी भएको बताएका छन्।

यद्यपि हङकङमा बेइजिङ पक्षधरहरू जुटेको यो एउटा उल्लेख्य सङ्केत भने हो। प्रहरीमाथि भएको व्यवहारलाई मैले सहेर बस्न सकिनँ, ७० वर्षीया फ्रान्सिस युले समाचार संस्था एएफपीसँग भनिन्।

वङ् नामले मात्र चिनिन चाहने एकजना ५४ वर्षे कर्मचारीले बताए अनुसार प्रहरीले नियमकानुन पालना गराउने प्रयास गरेकोमा विधेयकविरोधी प्रदर्शनकारीले अभद्र व्यवहार देखाएका थिए।

उक्त विवादास्पद विधेयकले बलात्कार र हत्याजस्ता अपराधका संदिग्धलाई मुख्यभूमि चीन, ताइवान र मकाउसामु सुपुर्दगी गर्न सकिने प्रस्ताव गरेको थियो।

हङकङ सन् १९९७ यता एक देश, दुई प्रणाली अन्तर्गत चीनको अङ्ग रहिआएको छ। जसले गर्दा विशेष प्रशासनिक एकाइले न्यायिक स्वतन्त्रता सहित मुख्यभूमिजस्तो नदेखिने स्वतन्त्रता उपभोग गर्दै आएको छ।

तर प्रदर्शनकारीहरू सुपुर्दगी विधेयकले हङकङलाई योजनाबद्ध ढङ्गबाट चीनको पूर्ण नियन्त्रणमा ल्याउन खोजेको भनेर भय प्रकट गर्छन्। जोस्अ वाङ्क सन् २०१४ को प्रजातन्त्र पक्षधर प्रदर्शनका एकजना नेता हुन् जो १७ जुनमा जेलबाट छिट्टै छुटेका थिए।

जेलबाट छुटेपछि उनले सञ्चारमाध्यम र समर्थकहरूलाई सम्बोधन गर्दै बेइजिङ समर्थक शहरकी प्रमुख कार्यकारी क्यारी लामले पद छाड्नुपर्ने बताएका थिए।

हङकङ चीनलाई हस्तान्तरण गरिएको २२ औँ वार्षिकोत्सवसँग जुध्नेगरी सोमबार समेत अर्को ठूलो र्यालीको आयोजना गरिएको छ। हङकङका चीफ सेक्रेटरी म्याथ्थिउ चुङ्गले शान्त रहन आग्रह गरेका छन्।

प्रदर्शनकारीहरूलाई सम्बोधन गरिएको एउटा ब्लगमा उनले लेखेका छन्, हङकङको व्यापारिक माहोललाई स्थिर पार्दै पुरानै स्वरूपमा ल्याउन सक्दो छिटो सामाजिक व्यवस्था र शान्तिपूर्ण माहोल कायम गर्नु निकै आवश्यक छ। हङकङ मेरो घर हो, त्यहाँ तपाईं र ममा केही भिन्नता छैन। बीबीसीबाट