सर्लाहीमा प्रहरीको गोली चल्यो, एकको मृत्यु, एक गम्भिर घाईतेः अवस्था तनावपूर्ण

आक्रमणबाट दर्जनौ प्रहरी समेत हताहत

काठमाडौं । खाल्डोमा डुबेर एक बालकको मृत्यु भएपछि प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा सर्लाहीमा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

खाल्डोमा डुबेर शनिबार बालकको मृत्यु भएपनि स्थानीय निकाय र प्रशासनले त्यसमा ध्यान नदिएको भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले गरेको पूर्व पश्चिम राजमार्गमा गरेको अबरोध हटाउने क्रममा दुईपक्षबीच भएको झडपमा प्रहरीको गोली लागेर स्थानीय सरोज नारायण महतोको मृत्यु भएको हो ।

प्रहरीको गोली लागेर मृत्यु हुनेमा इश्वरपुर नगरपालिका १३ श्रीपुरका करिब २५ वर्षीय सरोजको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन । मृत्यु भएका सरोजको टाउकोमा गोली लागेको बताइएको छ ।

त्यस्तै प्रहरीको गोली लागेर घाइते हुनेमा स्थानीय राजकुमार महरा रहेका छन । उनको खुट्टामा गोली लागेको बुझिएको छ । उनलाई थप उपचारका लागि अहिले जनकपुर लगिएको हरपललाई जानकारी प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट डिएसपि प्रदिपसिंह राठोरको नेतृत्वमा खटिएको प्रहरी टोलीले प्रदर्शनकारीले गरेको सडक अबरोध खुलाउन प्रयास गरेपछि केहीबेर दुईपक्षबीच झडप भएको थियो।

स्थानीयवासीहरुले उक्त घटनालाई राज्य आतंक भनेका छन । उनीहरुले नगरपालिकाको लापरवाहीका कारण खनिएको खाल्टोमा परेर बालकको मृत्यु भएकाले त्यसको जिम्मा नगरपालिकाले लिनुपर्ने माग राख्दै आफुहरुले गरेको शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीले गोली चलाएर गल्ती गरेको बताएका छन ।

स्थानीय एक युवाले भने–‘प्रहरीले बाटो खुला गर्न माइकबाट सचेत गरायो र तत्काल लाठि चार्ज सुरु गर्यो, हामी भाग्दै आफ्नो रक्षाका लागि ढुंगा हान्दै थिर्यौं, प्रहरीले एक्कासि अश्रुग्यास र गोली प्रहार गर्यो । हामी भने जोगियौं, सरोज जीको मृत्यु भयो ।’

आक्रोशित प्रदर्शनकारीहरुले प्रहरीमाथि नै हमला गर्न थालेपछि ज्यान जोगाउनका लागि गोली चलाइएको प्रहरीको भनाई रहेको छ । प्रहरीले आक्रोशित भिडभाड नियन्त्रण गर्नका लागि दिउँस करिब २ः३० बजेतिर गोली चलाएको बताएको छ ।

घटनाको विषयमा हरपल नेपालसँग कुराकानी गर्दै सर्लाही प्रहरीका प्रमुख एसपी गोपाल चन्द्र भट्टराइले भने प्रहरीमाथि हमला गर्न प्रदर्शनकारीहरु अघि बढेको र सतर्क गराउँदा समेत अटेर गरेपछि भिड नियन्त्रण गर्न लाठी चार्ज, अश्रुग्याँस र हवाई फायर गर्दा समेत अटेर गरेपछि बाध्य भएर गोलि चलाईएको जवाफ दिएका छन ।

एसपी भट्टराइका अनुसार त्यहाँ प्रहरीले भिड नियन्त्रण गर्न बाध्य भएर २० राउण्ड अश्रुग्याँस, दश राउण्ड रबरको गोली र ६ राउण्ड हवाई फायर गरेको थियो । उनले हवाई फायरको क्रममा चलेको गोली लागेर स्थानीय सरोजको मृत्यु भएको हुन पुगेको बताए ।

प्रहरीले अपनाएको संयमतामाथि प्रदर्शनकारीहरुले पटक पटक प्रतिकार गर्दे टुङ्गाले आक्रमण गरेको र प्रहरीलाई घाइते बनाएपछि बाँध्य भएर फायरिङ गर्नुपरेको उनको भनाई छ ।

प्रहरी श्रोतका अनुसार उक्त घटनामा प्रदर्शनकारीको आक्रमणबाट ११ जना नेपाल प्रहरीका र ६ जना सशस्त्र प्रहरीहरु गरी १७ जना घाईते भएका छन ।

घाइतेहरु मध्ये दुई जना नेपाल प्रहरीको अवस्था गम्भिर रहेको छ । उनीहरुलाई त्यहाँबाट थप उपचारका लागि भर्खरै विरगञ्ज लगिएको छ भने अन्यको अवस्था सामान्य रहेको बुझिएको छ ।

खाल्डोमा डुबेर इश्वरपुर नगरपालिका १३ श्रीपुरका १२ वर्षीय बालक अमित रायको शनिवार मृत्यु भएको थियो । उनको शव आज मात्र फेला परेको थियो ।

आक्रोसित स्थानीयवासीहरु सडकमै बालकको शव लिएर विरोधमा उत्रिएका थिए । उनीहरुले सडक अबरुद्ध गर्दै त्यही टेन्ट हालेर विरोध गरिरहेको अवस्थामा झडप भएको बुझिएको छ ।

स्थानीयवासीहरुले आफुहरु शोकमा रहेको र न्यायका लागि विरोधमा उत्रिएको बेला प्रहरीले राम्रारी नसम्झाई त्राशपूर्ण ढंगले एक्कासी गोली चलाएको आरोप लगाएका छन । घटनाको न्यायपूर्ण छानबिन गरी दोषि प्रहरीमाथि पनि कारबाही हुनुपर्ने उनीहरुको भनाई रहेको छ ।